मनोज भट्ट ##
गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको हुनाले निजलाई सांसद तथा पार्टी सभापतिको पदबाट बर्खास्त गरिनुपर्छ भन्ने मुद्दा अदालतमा विचाराधीन छ । यही माघ ११ गतेदेखि सो मुद्दामा सुनुवाइ हुँदै छ । रवि लामिछाने नेपाली नागरिक हुन् वा होइनन् भन्ने विषयमा केही तथ्यमाथि ध्यान दिनुपर्ने आवश्यक छ ।
रवि लामिछानेले २०५० फागुन १० गते काठमाडौँ जिल्ला प्रशासनबाट वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको देखिन्छ । यिनै व्यक्तिले २०७० फागुन ९ गते तद्नुसार फेबु्रअरी २१, २०१४ मा अमेरिकाको नागरिकता प्राप्त गरेको देखिन्छ । सन् २०१४ देखि २०१८ सम्म रवि अमेरिकी नागरिक भएको कुरा प्रष्ट छ ।
रविको नागरिकतासम्बन्धी विवाद तीनपटक उठेको पाइन्छ । सन् २०१८ मा प्रेस काउन्सिल नेपालमा उनका विरुद्ध पहिलोपटक उजुरी पर्यो । दोस्रोपटक मङ्सिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा निज नेपाली नागरिक नभएकाले उम्मेदवारी बदर गरिपाऊँ भनेर निर्वाचन आयोगमा उजुरी पर्यो । अहिले त्यससम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।
लामिछानेले अमेरिकाको नागरिकता र राहदानी त्याग्न २०७५ जेठ ५ तदनुसार मे १८, २०१८ का दिन नेपालस्थित अमेरिकी दूतावासमा दस्तुर भुक्तानीसहित प्रक्रिया अगाडि बढाएका थिए । जसअनुसार, जुन २८, २०१८ मा उनको अमेरिकी नागरिकता समाप्त भएको थियो ।
अमेरिकी नागरिकता त्यागिसकेको हुनाले म स्वत: नेपाली नागरिक हुँ भनेर रवि लामिछानेले जिकिर गर्दै आएका छन् । नेपाली नागरिकता पुन:प्राप्तिका लागि आफूले कुनै प्रक्रिया अपनाउनु आवश्यक नरहेको दाबी गरेका छन् । २०५० सालमा प्राप्त गरेको नेपाली नागरिकता परित्याग नगरेको हुनाले अमेरिकी नागरिकबाट हटेपछि पहिले प्राप्त गरेको नागरिकताको आधारमा आफूले नेपालका अन्य नागरिकसरह राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउँछु भन्ने दाबी पनि रविको रहेको छ ।
नेपालमा दोहोरो नागरिकता लिन पाइँदैन । आफूखुसी विदेशी नागरिकता लिएमा विदेशी नागरिकता लिनेको नेपाली नागरिकता कायम नरहने कानुनी व्यवस्था छ ।
लामिछानेले फरक फरक मितिमा प्राप्त गरेको नेपाली तथा अमेरिकी नागरिकता, अमेरिकी नागरिकताको परित्याग र पुरानो नागरिकताको आधारमा उनले उपभोग गरेका अधिकार र उनले गर्दै आएको दाबीलाई कानुनी दृष्टिकोणले निरूपण गरेर विचार गरौँ ।
नेपाली नागरिकता ऐन–२०६३ को दफा १० र हाम्रो मुलुकको नागरिकता प्रणालीले एकल नागरिकताको कल्पना गरेको छ । नेपाली नागरिकले एकै समयमा नेपालको र अन्य मुलुकको नागरिकता लिन हाम्रो कानुनले प्रतिबन्ध लगाएको छ । नेपाली नागरिकले आफूखुसी विदेशको नागरिकता प्राप्त गरेपछि निजको नेपालको नागरिकता कायम रहँदैन ।
संसारमा कैयौँ मुलुकले दोहोरो नागरिकता लिन पाउने कानुनी व्यवस्था पनि गरेको छ जस्तै The British Nationality Act-1948 अनुसार बेलायतमा दोहोरो नागरिकता धारण गर्न पाइन्छ तर नेपालमा दोहोरो नागरिकता लिन पाइँदैन । आफूखुसी विदेशी नागरिकता लिएमा विदेशी नागरिकता लिनेको नेपाली नागरिकता कायम नरहने कानुनी व्यवस्था छ ।
रवि लामिछानेका उपर्युक्त कार्य हेर्ने हो भने उनले २०५० सालमा नेपाली नगारिकता प्राप्त गरे । २०७० सालमा आफूखुसी अमेरिकी नागरिकता प्राप्त गरे । त्यस स्थितिमा उनको नेपाली नागरिकता कायम रहँदैन । नेपाली नागरिकतालाई कायम राख्ने वा नराख्ने विषयमा रविलाई कानुनले स्वेच्छिक अधिकार दिएको छैन । “आफूखुसी” विदेशी नागरिकता प्राप्त गरेपछि त्यस्तो व्यक्तिले अनिवार्य रूपमा नेपाली नागरिकता त्याग्नुपर्छ । यदि त्यागेन भने पनि राज्यलाई निजको नागरिकता कायम राख्न मिल्दैन ।
The British Nationality Act-1948 ले दोहोरो नागरिकता लिने नागरिकलाई कुन देशको नागरिकता त्याग्ने वा कायम राख्ने भन्ने स्वेच्छिक अधिकार दिएको छ तर बेलायतको जस्तो स्वेच्छिक अधिकार वा अमेरिकाको जस्तो नागरिकता छनौटको स्वतन्त्रता नेपाली नागरिकलाई छैन । अमेरिकाको Immigration Nationality Act ले दोहोरो नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरेको छैन तर कुनै पनि व्यक्तिले कुनै देशको नागरिकता लिने त्यसको छनौट गर्ने अधिकार दिएको छ ।
ऐनको दफा १० को उपदफा १ ले “नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरिसकेपछि निजको नेपाली नागरिकता कायम रहने छैन” भनेको छ । यसरी नेपालमा दोहोरो नागरिकता प्राप्त गर्नेको नेपाली नागरिकता समाप्त हुन्छ ।
यदि नागरिकता त्याग्ने वा कायम राख्ने स्वेच्छिक अधिकार वा छनौटको स्वतन्त्रता दिने हो भने हाम्रो मुलुक द्वैध (दोहोरो नागरिकता) प्रणालीमा जानुपर्ने हुन्छ । दोहोरो नागरिकता प्रणालीमा जाने सुविधा हाम्रो मुलुकको विशिष्ट भू राजनीतिक स्थिति, जनसङ्ख्याको अनुपातमा स्रोतसाधनको उपलब्धताको सीमितता, यहाँको भौगोलिक आकारले हामीलाई दिँदैन । नेपालले दोहोरो नागरिकता प्रणाली नअपनाएकै हुनाले अन्तत: रवि लामिछानेले पनि अमेरिकी नागरिकता त्याग्नुपरेको थियो ।
अमेरिकी नागरिकता त्यागे पनि त्यही कारणले उनी स्वत: नेपाली नागरिक ठहरिँदैनन् । हाम्रो कानुनी व्यवस्थाअनुसार अन्य देशको नागरिकता प्राप्त गर्नासाथ नेपालको नागरिकता समाप्त हुन्छ । नागरिकता कायम नरहेको नेपालीले सो नागरिकता देखाएर नेपाली नागरिकसरह राजनीतिक अधिकार प्रयोग गर्न पाउने हक राख्दैनन् । त्यसबारे नेपालमा भएको कानुनी व्यवस्थालाई हेरौँ ।
नेपालको नागरिकता ऐन–२०६३ को दफा १० ले नेपाली नागरिकता कायम नरहने अवस्थाका बारेमा व्यवस्था गरेको छ । ऐनको दफा १० को उपदफा १ ले “नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरिसकेपछि निजको नेपाली नागरिकता कायम रहने छैन” भनेको छ । यसरी नेपालमा दोहोरो नागरिकता प्राप्त गर्नेको नेपाली नागरिकता समाप्त हुन्छ ।
आफूखुसी नेपाली नागरिकता त्यागेपछि अपनाउनुपर्ने कार्यविधिका बारेमा पनि ऐनमा व्यवस्था गरिएको छ । नागरिकता ऐनको दफा १० को उपदफा (२) ले “नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिएबमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्ने छ । त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन” भन्ने व्यवस्था गरेको छ । त्यो कानुनी प्रावधानअनुसारको कार्यविधि अपनाएर रवि लामिछानेले तोकिएको अधिकारीलाई सूचना दिएका छैनन् तर रविले नेपाली नागरिकता त्याग्न सूचना नदिएका वा नगरेका कारण निजको नागरिकता कायम छ वा समाप्त भएको छैन भन्न मिल्दैन । “तोकिएबमोजिम तोकिएको अधिकारीलाई” सूचना नदिनु लुकाउनुका पछाडि उनको असल नियतले काम गरेको छैन । दोहोरो नागरिकताको स्थितिलाई मान्यता नदिने नेपालको कानुनी व्यवस्थाको रविले सरासर उल्लङ्घन गरेका छन् ।
आफूखुसी विदेशी नागरिकता लिएका कारण समाप्त भएको नेपाली नागरिकता पुन: प्राप्तिको व्यवस्था पनि कानुनमा गरिएको छ । नेपालको नागरिकता ऐन–२०६३ को दफा ११ ले कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्ति नेपालमा आई बसोबास गरी विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुन: कायम हुने व्यवस्था छ । ऐनको दफा ११ लाई नेपाल नागरिकता नियमावली–२०६३ को नियम ११ ले थप प्रष्ट पारेको छ । नियम ११ ले भनेको छ– “ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुन: नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशी नागरिकता त्यागेको निस्सासहित निजलाई पहिलेको नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूचि ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ ।”
अमेरिकी नागरिकता परित्याग गरिसकेपछि नागरिकता ऐन–२०६३ को दफा ११, नागरिकता नियमावलीको नियम ११ बमोजिम रवि लामिछानेले समाप्त भएको नेपाली नागरिकताको पुन:प्राप्तिका लागि अनुसूची ११ बमोजिम निवेदन दिएको कहिँ कतैबाट खुल्दैन ।
अमेरिकी नागरिकता परित्याग गरिसकेपछि नागरिकता ऐन–२०६३ को दफा ११, नागरिकता नियमावलीको नियम ११ बमोजिम रवि लामिछानेले समाप्त भएको नेपाली नागरिकताको पुन:प्राप्तिका लागि अनुसूची ११ बमोजिम निवेदन दिएको कहिँ कतैबाट खुल्दैन ।
ऐन र नियमावलीमा गरिएको व्यवस्थाबमोजिम लामिछानेले गरेको कार्य गैरकानुनी छ । सर्वप्रथम उनी नेपाली नागरिक हुँदाहुँदै अमेरिकी नागरिकता लिए । अमेरिकी नागरिकताको आधारमा नै उनले पासपोर्ट प्रयोग गरे । त्यसै आधारमा उनले नेपाल आउने प्रवेशाज्ञा (भिसा) पाए । नेपाल आएर विवाद उत्पन्न भएपछि अमेरिकी नागरिकता परित्याग गरे पनि त्यसको निस्सा काठमाडौँ जिल्ला प्रशासनमा बुझाएर नेपाल नागरिकता नियमावली–२०६३ को अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिएको देखिएन । यदि नियम ११ को प्रक्रिया पूरा गरेर अनुसूची ११ बमोजिमको ढाँचामा नेपाली नागरिकता पुन: प्राप्तिका लागि निवेदन दिएको भए जिल्ला प्रशासन कार्यालय काठमाडौँले सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा यो कुरा उल्लेख हुन्थ्यो । रविले पुन:प्राप्त गरेको नागरिकता नम्बर जिल्ला प्रशासन कार्यालयले लेखेर पठाउँथ्यो । यो प्रक्रिया पूरा नगरेका कारणले गर्दाखेरि नै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रविको नागरिकताको विषयमा प्रष्ट जवाफ दिन सकेन ।
ठिक त्यसै प्रकारले स्वयम् रवि लामिछानेले समेत सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा अमेरिकी नागरिकता त्यागी नेपालको नागरिकताको पुन:प्राप्तिका लागि आफूले नियम ११ बमोजिम प्रक्रिया अगाडि बढाई नेपालको पुन: नागरिकता प्राप्त गरेको, मेरो नाममा नागरिकता जारी गर्ने निकाय फलानो हो भन्न सक्ने सामथ्र्य राखेका छैनन् ।
कतिपय सञ्चार माध्यमले अमेरिकी नागरिकता परित्याग गरेको सूचना रवि लामिछानेले अध्यागमन विभागलाई दिएको सार्वजनिक गरेका छन् । नेपाल नागरिकता ऐन र नियमावलीले नागरिकता प्राप्ति, समाप्ति वा पुन:प्राप्ति गर्ने निकायको रूपमा अध्यागमन विभागलाई चिन्दैन । यदि अमेरिकी नागरिकता परित्यागसम्बन्धी कुनै जानकारी वा नयाँ नागरिकताका लागि रवि लामिछानेले अध्यागमन विभागलाई निवेदन दिएका छन् भने पनि त्यस प्रकारको निवेदनको कुनै कानुनी अर्थ छैन ।
रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको सम्पूर्ण पाटो हेर्दा उनी एकैचोटि दुई मुलुकको नागरिक बनेर दोहोरो नागरिकता लिएर नेपालको कानुनको खुलेआम धज्जी उडाए । अमेरिकी नागरिकता लिइसकेपछि रवि लामिछानेको नेपाली नागरिकता कायम रहँदैन । यो बाध्यकारी व्यवस्था हो । आफूले नेपाली नागरिकता नत्यागेका कारण अमेरिकी नागरिकता त्यागेपछि पुरानो नागरिकता बैध भई क्रियाशील हुन्छ भन्ने सोचाइ नै गलत छ । कुनै व्यक्तिले विदेशी नागरिकता लिएर नेपाली नागरिकता नत्यागेका कारण त्यस्तो नागरिकता कानुनी रूपमा जीवित, सक्रिय वा बैध हुन्छ भन्न मिल्दैन । नेपाली नागरिकता परित्यागका लागि प्रक्रिया अगाडि बढाउनु रविको कानुनी दायित्व हुन्थ्यो । त्यो दायित्व पूरा नगरेका कारण उनले कानुनबाट उन्मुक्ति पाउन सक्दैनन् ।
नेपाली नागरिकता परित्याग गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने काुननी दायित्वको रविले गम्भीर उल्लङ्घन गरेका छन् । त्यसका साथै नेपालको सरकारी कागज (नागरिकता) र छापको समेत दुरूपयोग गरी कीर्तेसम्बन्धी गम्भीर अपराध गरेका छन् । स्वयम् नेपालको प्रशासनलाई पनि उनले दोहोरो नागरिकता लिएको जानकारी हुँदाहुँदै पनि कानुनी कारबाही अगाडि नबढाएर सरकारले दब्बु नीति अपनाएको देखिन्छ । समाप्त भएको नेपाली नागरिकतालाई देखाएर उनले आफूलाई नेपाली नागरिक सिद्ध गर्ने कोसिस गर्दै छन् । त्यही नागरिकताको आधारमा उनी चितवन जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भई गृहमन्त्रीसमेत भएका छन् ।
रविले नेपाली नागरिकसरहको राजनीति अधिकार प्रयोग गरी दल खोल्ने र त्यसको सभापति भएर चितवनबाट प्रतिनिधि सभामा निर्वाचित हुने कार्य गैरकानुनी भएकाले ती पदबाट निजलाई बर्खास्त गर्नका लागि अदालतमा परेको रिट निवेदन न्यायोचित छ ।
नेपाल नागरिकता ऐन–२०६३ को दफा १० खारेज गरिपाऊँ भनेर सर्वोच्चमा रिट परेको थियो । अदालतले सुरेन्द्रबहादुर श्रेष्ठ विरुद्ध सम्माननीय प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत, रिट नंं. ०७२–ws–०००७ रिट उत्पे्रषणको मुद्दामा ऐनको दफा १० को केही मात्रामा व्याख्या पनि भएको छ । यो मुद्दाका निवेदक सुरेन्द्रबहादुर श्रेष्ठ नाम गरेका व्यक्ति कानुन व्यवसायी हुन् । निजले आफूखुसी बेलायतको अङ्गीकृत नागरिकता प्राप्त गर्दछन् । बेलायतको अङ्गीकृत नागरिकता प्राप्त गरे पनि निज सुरेन्द्रबहादुर श्रेष्ठले २०७५ सालसम्म नेपालको नागरिकता परित्याग नगरेका रहेछन् तर नेपाल नागरिकता ऐनको दफा १० ले नेपाली नागरिकले अन्य कुनै देशको नागरिकता लिएमा नेपाली नागरिकता कायम नहुने प्रावधानका कारण नेपाली नागरिकता त्याग्नु पर्ने देखिएकोले नै निज श्रेष्ठले ऐनको दफा १० लाई नै संविधानसँग बाझिएको देखाएर त्यसलाई खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । त्यस सम्बन्धमा सर्वोच्च अदालतले नेपालको नागरिकता ऐन–२०६३ को दफा १० को समग्र कानुनी व्यवस्थालाई हेर्दा सोअन्तर्गत कुनै पनि व्यक्ति नेपालको नागरिक हुने र सोही समयमा अर्को देशको नागरिक पनि हुन सक्ने गरी दोहोरो नागरिकताको स्थितिलाई मान्यता दिन नमिल्ने, विदेशको नागरिकता लिएको अवस्थामा नेपालको नागरिकता कायम रहन नसक्ने ठहर गरेको छ । त्यसैले विदेशी नागरिकता लिइसकेपछि रवि लामिछानेको नेपाली नागरिकता समाप्त भइसकेको थियो । उनले नेपाली नागरिकता परित्यागका लागि सम्बन्धित निकायमा गएर प्रक्रियामा पूरा नगरेका कारण एकैचोटी उनी दुईओटा मुलुकको नागरिक हुन पाउँदैनन् ।
दोस्रो कुरा स्वयम् हाम्रो कानुनले पनि विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता कायम रहने वा त्यसलाई कायम राख्ने वा नराख्ने सो रोज्ने अधिकार रवि लामिछाने वा अरू कसैलाई दिएको छैन । त्यसैले रविले नेपाली नागरिकसरहको राजनीति अधिकार प्रयोग गरी दल खोल्ने र त्यसको सभापति भएर चितवनबाट प्रतिनिधि सभामा निर्वाचित हुने कार्य गैरकानुनी भएकाले ती पदबाट निजलाई बर्खास्त गर्नका लागि अदालतमा परेको रिट निवेदन न्यायोचित छ ।