भोजपुर । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ ।
पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ । यहाँ भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन् ।
यस्ता खुकुरी विश्वबजारमा समेत प्रख्यात छ । यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम रु १० हजारसम्म पर्ने व्यवसायीको भनाइ छ ।
यहाँको खुकुरीको मागलाई धान्नै मुस्किल रहेको स्थानीय व्यापारीको भनाइ छ । विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताउनुभयो । पेसालाई जोगाइराख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ ।
दशक अघिसम्म धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिकरूपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताउनुभयो ।
“खुकुरी बनाउने कालीगढ पेसा सङ्कटमा पर्ने अवस्था छ”, विश्वकर्माले भन्नुभयो, “खास गरेर यो पेसालाई पुस्तान्तरण गर्न सकिएन ।
मानिसले कालीगढ पेसालाई अपहेलनाका रूपमा लिने भएकाले पनि नयाँ पुस्ताको रोजाइँमा नपरेको उहाँको कथन छ ।
“चार दशक बढी समयबाट यो काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “यतिका समय यही पेसा गर्दा पनि आर्थिक अवस्था कमजोर नै छ । मेहेनत बढी गर्नुपर्छ । आम्दानी कम छ ।” नयाँ पुस्तालाई यसतर्फ आकर्षित गरेर पेसालाई बचाउन सकिने उहाँको भनाइ छ ।
स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताउनुभयो । व्यवसायलाई सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको समेत अभाव रहेको उहाँको भनाइ छ ।
“राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ । हामीलाई दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ ।” सामुदायिक वनबाट सहजरूपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ ।
आफूहरूले उत्पादन गरेका खुकुरीले पनि मेहेनतअनुसारको मूल्य पाउन नसकेको कालीगढहरूको भनाइ छ । खुकुरी उत्पादन गर्ने कालीगढहरू बिचौलियाको मारमा समेत पर्ने गरेका छन् ।
“कालीगढ काममा दु:ख छ”, उहाँले भन्नुभयो, “पराम्परागत तरिकाबाट फलाम कुटेर परिवार धान्ने अवस्था छैन । सामुदायिक वनका कारण कच्चा पदार्थ जुटाउन नै समस्या छ । राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा सहयोग गरे हुने । त्यही भएर पनि धेरैले अब त पेसा नै छाडिसके ।”
राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातारण निर्माण गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विश्वकर्माको भनाइ छ । “पेसाको संरक्षण अहिलेको आवश्यकता हो”, विश्वकर्मा भन्नुभयो, “यो पेसा गरेर सम्मानपूर्वक बाँच्ने आधार बनाउन आवश्यक छ । राज्यले त्यो वातावरण बनाइदिनुपर्यो ।
राज्यबाट पनि खास प्रोत्साहन छैन । यो काम गरेर आनन्दले बाँच्न सक्ने अवस्था भएमा नयाँ पुस्ता पनि आकर्षित हुने थिए ।”
जिल्लाको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने कालीगढ पेसा लोप हुँदै जानु दु:खद् रहेको जानकारहरूको भनाइ छ ।