विष्णु शर्मा (पाण्डेचरी)
चुनाब आउँछ थोरै लाग्छ
जनतालाई अग्रगामी सरकारको आस ।
कुनै आशा पुरा हुन्नन्
उल्टै जान्छ उनको सास ।।
जे जसरी भए पनि
चाहिने सबलाई सत्ता ।
बाच्न गार्हो भो नेतागणलाई
नभएमा भत्ता ।।
केही नयाँ युवा ल्यायो
जनादेशले छानी ।
उनैलाई पहिला हतार भयो
सरकारमा जानी ।।
केही गर्छन् कि भन्ने लाग्थ्यो
बिपक्षमा बसी ।
थन्किए सरकारमा
लगाएर कसी ।।
चर्का चर्का भाषण गर्थें
उफ्री उफ्री पहिले ।
रुजेका बिराला सरी भए
सरकारमा गई अहिले ।।
लोकतन्त्रमा हुन्छ भन्थे
जनादेशको कदर ।
अवसरबादले गरिदियो
त्यो नियमलाइ बदर ।।
सरकारको बिपक्ष हुन्छ
लोकतान्त्रिक ब्यबस्थामा ।
सत्ता मोहले गलत साबित गर्यो
हाम्रो देशको अबस्थामा ।।
जनता अचेत हुँदा चल्यो
नेताको मनपरी ।
त्यसैले देश जनताले
दुख पाए घरी घरी ।।
जनता सचेत हुने दिन
कहिले आउने होला ?
सचेत नभइ फेरिदँैन
हजुर हाम्रो चोला ।।
चिप्ला चिप्ला भाषणमा
नलर्कौ न हामी ।
शिर ठाडो पार्दैछन्
साम्राज्यवाद र प्रतिगामी ।।
खतराको घण्टी बज्यो
राष्ट्रियता माथि ।
यसै छोडे राख्छन् यिनले
देशको सार्वभौम र अखण्डता थाती ।।