काठमाडौं । राष्ट्रिय जनमोर्चाले विपक्षी दलको नेतामा दाबी गर्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गरेको छ । पार्टी अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीलाई विपक्षी दलको नेता बनाउन दाबीसहित बिहीबार प्रस्ताव दर्ता गरेको महासचिव मनोज भट्टले जानकारी दिनुभएको छ ।
महासचिव भट्टले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिनुभएको हो ।
गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद भित्रका १० वटा दलले विश्वासको मत दिएका थिए भने राष्ट्रिय जनमोर्चा र नेमकिपाले विपक्षमा मत दिएका थिए।
‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ ले मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दलबाहेकका दलले मात्र विपक्षी दलको नेतामा दावी गर्ने अधिकार राख्दछ’ भट्टले भन्नुभएको छ, ‘नेकपा माओवादी सहितकाले राष्ट्रपति कहाँ सरकार गठनका लागि दलीय समर्थन बुझाएको र त्यस आधारमा विश्वासको मत समेत संसदबाट सत्ता गठबन्धनले दिनुका साथै नेकाले समेत दलीय आधारमा नै माओवादी नेतृत्वको गठबन्धन सरकारलाई संसदमा विश्वासको मत दिई समर्थन गरेको हुनाले कानुनी रुपमा नेकाले विपक्षी दलको हैसियत प्राप्त गर्न सक्दैन।’