केभिन किम/रेबेका हेन्स्की
नेपालमा मानिसलाई एकबाट अर्को धर्ममा जबरजस्ती परिवर्तन गर्न लगाउनु गैरकानुनी काम हो तर केही धर्म प्रचारकहरू इसाई आस्था फैलाएर मुद्दा लाग्न सक्ने खतरा मोल्नसमेत इच्छुक छन् ।
“येसुको जित होस्” हिमालको फेदमा रहेको झार्लाङ गाउँमा एउटा नयाँ चर्चको उद्घाटन गर्दा एक जना कोरियाली पास्टर पाङ चाङइनले भावविभोर भएर आँसु खसाले । हालसालै धर्म परिवर्तन गरेकाहरूको त्यो समूहले आफ्नो हात उठाएर प्रार्थना गरे। त्यसरी धर्म परिवर्तन गर्नेहरू धेरैजसो आदिवासी तामाङ समुदायका छन्, जुन समुदायले विगतमा बोन धर्म मान्ने गर्दथे । नेपालमा बोन धर्म बुद्ध धर्मको आगमनभन्दा अघिदेखि रहेको ठानिन्छ ।
पाङको नजरमा तामाङ समुदाय “आर्थिक र आध्यात्मिक रूपमा गरिब” छ । “त्यसैले, एउटा चमत्कार हुन्छ र पूरै गाउँले धर्म परिवर्तन गर्छ” उनले भन े।
धर्म प्रचारक मिसनरीहरू धेरैजसो पाङ जस्तै दक्षिण कोरियाली प्रचारकले बुद्धको जन्मभूमि र पूर्व हिन्दु अधिराज्य नेपालमा विश्वमै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको इसाई समुदाय निर्माण गर्न मदत गरेका छन्।
नेपालमा इसाई धर्मावलम्बीको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यत: परम्परागत हिन्दु वर्णाश्रम जातव्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिस वा आदिवासी जनजाति समुदायका मानिस छन् । पाङले भने जस्तै उनीहरूले चमत्कारमा विश्वास गरेका पनि हुन सक्छन् तर धर्म परिवर्तन गरेपछि त्यसले उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्दछ ।
इसाई धर्म प्रचारकको रूपमा नेपालमा बिताएको दुई दसक लामो समयमा पाङले आफ्नो रेखदेखमा झन्डै ७० ओटा चर्च स्थापना गरेका छन् । त्यसरी बनेका धेरैजसो चर्च राजधानी काठमाडौँबाट दुई घण्टाजति टाढा उत्तर पश्चिममा अवस्थित धादिङ जिल्लामा रहेका छन् । उनका अनुसार जग्गा त्यहाँको समुदायले दिन्छ भने कोरियाली चर्चले निर्माण कार्यका लागि पैसा दिएर मदत गर्छन् । पाङ दाबी गर्छन्– “झन्डै सबैजसो पहाडी उपत्यकामा चर्च बनिरहेका छन्।”
त्यो केही बढाई चढाई गरेर गरिएको दाबी हुन सक्छ तर हालैका वर्षमा नेपालभरि चर्चको सङ्ख्यामा ठुलो वृद्धि भएकोमा कुनै शङ्का छैन । इसाई समुदायको राष्ट्रिय सर्वेक्षणको पछिल्लो तथ्याड्ढले अझै पनि उल्लेख्य रूपमा बहुसङ्ख्यक हिन्दु रहेको नेपालमा ७,७५८ चर्च रहेको देखाएको छ र यस्तो रूपान्तरणका पछाडि धेरै हदसम्म दक्षिण कोरियाली धर्म प्रचारकको हात रहेको छ । केही दसकअघि मात्रै धर्म प्रचारकहरू विदेशमा खटाउन सुरु गरेको भए पनि दक्षिण कोरिया अहिले इसाई धर्म प्रचारक परिचालन गर्ने विश्वकै सबैभन्दा ठुला देशमध्येमा एक बन्न पुगेको छ ।
कोरियाली वल्र्ड मिसन एसोसिएसनका अनुसार कोरियाका त्यस्ता २२ हजारभन्दा बढी इसाई धर्म प्रचारक देशबाहिर रहेका छन् । धर्म परिवर्तन गरेर आफूले पुनर्जन्म प्राप्त गरेको भन्ने उत्साहबाट प्रेरित कोरियाली धर्म प्रचारक मिसनरीहरू धर्म परिवर्तनका निम्ति निकै गार्हो ठानिँदै आएका संसारका विभिन्न स्थानमा समेत आक्रामक रूपमा प्रवेश गर्ने भनी परिचित हुन थालेका छन्, जुन क्रममा कतिपय स्थानबाट तिनीहरूलाई निष्काशनसमेत गर्ने गरिएको छ ।
नेपाल अहिले धर्म निरपेक्ष राज्य हो र सन् २०१५ मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ । यद्यपि सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई उसको धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था गरेको छ ।
“धर्म परिवर्तन गराउने विरुद्धको कानुनका कारण हामी सधैँ चिन्ता र त्रासमा काम गरिरहेका हुन्छौँ” पाङकी पत्नी ली जियोङहीले भनिन्– “तर यो डरका कारण हामी इसाई धर्मको उपदेश फैलाउन रोक्न सक्दैनौँ । हामी आत्माको उद्धार गर्ने कार्यलाई रोक्ने छैनौँ ।”
यी दम्पती पहिला ब्याड्ढमा काम गर्थे । “पहिले मेरा पतिले नै ईश्वरको आदेश प्राप्त गर्नुभएको हो र त्यसको छोटो समयपछि ईश्वरले हामीलाई नेपालतर्फ जाने बाटोमा पठाइदिनुभयो” ली जियोङहीले भनिन् ।
उनीहरू सन् २००३ मा पहिलोपटक नेपाल आउँदा नेपालमा हिन्दु शाही परिवार सत्तासिन थियो । “यहाँ थुप्रै मूर्तिहरूको पूजा भइरहेको देखेर स्तब्ध भएको थिएँ” पाङ भन्छन्– “मलाई लाग्यो, नेपालमा येसुको उपदेशको एकदमै चर्को आवश्यकता छ ।”
उनीहरू आएको पाँच वर्षपछि नेपालमा २४० वर्ष पुरानो राजतन्त्र ढल्यो । एक दसक लामो सशस्त्र द्वन्द्वको अन्त्य गर्दै माओवादी विद्रोहीले हतियार बिसाए र उनीहरू सरकारमा आए । त्यसको केही अघि मात्रै नेपालको संसद्ले देशलाई धर्म निरपेक्ष घोषणा गरिसकेको थियो ।
“यसले मिसनरी कामका लागि स्वर्ण युगको थालनी गर्यो” पाङ भन्छन् । हामीले केही हप्ता कोरियाली प्रचारक समुदायसँग समय बितायौँ । त्यस क्रममा हामीसँग खुला रूपमा बोल्न इच्छा देखाउने पाङ र उनकी पत्नी मात्रै थिए । “परमेश्वरले नेपालमा के गरिरहेका छन् भन्ने कुरा अरूलाई सुनाउन म खुला छु” पाङले भने।
आफूहरूको कामले कानुनको उल्लङ्घन गरेको भन्ने उनलाई लाग्दैन किनभने उनको मनमा उनीहरूले खुला रूपमा धर्म परिवर्तन गराएको वा बाप्टाइज गराएको भन्ने लाग्दैन । “हामीले गरिरहेको धर्म प्रचारको काम केवल हामीबारे मात्रै होइन, परमेश्वरले यो काम गरिरहेका छन् । नेपालमा चमत्कार गर्न कसरी परमेश्वरले हाम्रो माध्यमबाट काम गर्छन् भनेर हामीलाई देखाउन मन छ” उनले भने ।
नेपालमा इसाई समुदाय देशको कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम छ र पछिल्लो जनगणनाको तथ्याड्ढले त्यस्तो सङ्ख्यामा वृद्धि भइरहेको देखाउँछ । सोही तथ्याड्ढका अनुसार नेपालमा हिन्दु करिब ८० प्रतिशत छन् भने बौद्धमार्गी करिब ९ प्रतिशत छन् ।
सन् १९५१ को तथ्याड्ढमा नेपालमा इसाई धर्मावलम्बी एक जना पनि थिएनन् भने सन् १९६१ मा त्यस्तो सङ्ख्या जम्मा ४५८ जनाको थियो तर सन् २०११ सम्ममा आइपुग्दा त्यो करिब ३ लाख ७६ हजार पुग्यो भने अहिले त्यो सङ्ख्या करिब ५ लाख ४५ हजार रहेको पछिल्लो जनगणनाले अनुमान गरेको छ ।
“यो ज·लमा डढेलो जसरी फैलिरहेको छ । हाम्रो सांस्कृतिक पहिचान धरापमा परेको छ । राष्ट्रिय एकताको सूत्र दाउमा छ” नेपालका एक जना पूर्व उपप्रधानमन्त्री कमल थापाले दाबी गरेका छन् । उनी कोरियाली धर्म प्रचारको कामलाई “देशको सांस्कृतिक पहिचानमाथिको स·ठित हमला” को रूपमा हेर्छन् । “मिसनरीहरूले पर्दापछाडि बसेर काम गरिरहेका छन् र गरिब र सिधासादा मानिसलाई शोषण गरिरहेका छन् अनि इसाई धर्ममा परिवर्तित हुन प्रोत्साहन गरिरहेका छन् । यो धार्मिक स्वतन्त्रताको अवस्था होइन । यो धर्मको नाममा गरिएको शोषण हो” उनले भने ।
उनले नेपाल पुन: हिन्दु राष्ट्र हुनुपर्ने वकालत गर्दै आएका छन् । उनले धर्म परिवर्तन विरोधी कानुनको पनि समर्थन गरेका थिए र उनी उक्त कानुन कार्यान्वयनमा भएको हेर्न चाहन्छन् । हाल उक्त कानुनअन्तर्गत मुद्दा लागेकाहरू इसाई मात्रै छन् तर अहिलेसम्म कोही पनि दोषी ठहर भएका छैनन् । त्यस्ता मुद्दा या त प्रमाणको अभावका कारण फिर्ता भएका छन् वा पुनरावेदनमा जाँदा अभियुक्तले सफाइ पाएका छन् ।
नेपाल इसाई समाजका अनुसार अहिले त्यस्ता प्रकाकार पाँचओटा मुद्दा अदालतमा विचाराधीन छन् । दुई महिलासहित चार कोरियाली विरुद्धको मुद्दा गत डिसेम्बरमा फिर्ता भएको थियो ।
नेपाल क्रिस्चियन सोसाइटीका प्रमुख पास्टर डिल्लीराम पौडेल त्यस्तो कानुनअन्तर्गत सोधपुछ गरिएकामध्ये पहिला व्यक्तिमा पर्दछन् । सन् २०१८ को अप्रिलमा उनीमाथि धर्म परिवर्तन गर्न उनले मानिसलाई पैसा दिएको भनी आरोप लागेको थियो तर उनले त्यसलाई अस्वीकार गर्छन् । उनी विरुद्धको आरोप पछि फिर्ता लिइयो । “हामीमाथि मानिसलाई धर्म परिवर्तन गराएको आरोप लाग्छ तर त्यस्तो शक्ति हाम्रो हातमा हुँदैन” उनले भने।
“यदि हुन्थ्यो भने मैले मेरी आमाको धर्म परिवर्तन गराउन सक्ने थिएँ । उहाँ अहिले ९२ वर्षकी हुनुभयो । म उहाँलाई पैसा दिन सक्छु । म उहाँका लागि प्रार्थना गर्न सक्छु तर उहाँको धर्म परिवर्तन गराउन सक्दिनँ किनभने त्यो त जीिसबाटै आउनुपर्ने हो” उनको भनाइ छ ।
उनी कट्टर हिन्दु परिवारका हुन् र “२१ पुस्तादेखि“ उनको बाबुबाजे हिन्दु पण्डित थिए । उनी २०/२२ वर्षको हुँदा पढ्नका लागि दक्षिण कोरिया गएका थिए र त्यहीँ उनले इसाई धर्मसँग परिचित हुने मौका पाए ।
“म एक्लै थिएँ, मेरा कोही साथी बनिसकेका थिएनन्” उनले सम्झिए– “त्यस बेला केही मानिसले मलाई नेपाली भाषामा भएको कोरियाली बाइबल दिए । उनीहरूले कतैबाट नेपाली भाषाको बाइबल फेला पारेका थिए” त्यो बाइबल उनले एकै रातमा पढे र भने– “मैले मेरो सृष्टिकर्तालाई फेला पारेँ ।”
“यो हास्यास्पद र अविश्वसनीय लाग्छ ? हो, मलाई त्यस्तै भएको थियो” उनले मुस्कुराउँदै भने । जब उनी नेपाल फर्किए, उनको परिवारले उनीप्रति राम्रो व्यवहार गरेन ।
“उनीहरूले इसाई विदेशी धर्म हो भने । केही मानिसले म बौलाएँ भने र मेरो होस गुम भएको बताए” उनले सम्झिए । उनको परिवार र समुदायले उनलाई स्वीकार गर्न निकै समय लाग्यो ।
प्रत्येक वर्ष करिब दुई हजार नेपाली विद्यार्थी पढ्नका लागि कोरिया जाने गर्छन् । नेपालमा रहेका एक कोरियाली प्रचारक (जसले नाम उल्लेख नगर्ने गर्ने सर्तमा बोलेका थिए) भन्छन्– “तिनीहरू कोरियास्थित स्थानीय चर्चसँग सम्पर्क गर्ने प्रयास गर्छन् ।”
“नेपालमा इसाई धर्मको प्रचार गर्ने काम निकै चुनौतीपूर्ण छ । त्यसैले हामीसँग वैकल्पिक तरिका छन्” उनले भने– “हाम्रो उद्देश्य भनेको धेरैभन्दा धेरै आत्मालाई परिवर्तन गर्न सक्नु हो । युवा हुँदा हिन्दु पुजारी रहेका डिल्लीराम पौडेल त परिवर्तन हुन सके भने हामीले गर्न सक्छौँ । त्यसैले यो काम हामीले गोप्य रूपमा रहेरै गर्नुपर्छ ।”
पाङ र उनकी पत्नीले काठमाडौँमा मिसनरी (धर्मबारे पढाइ हुने स्थान) विद्यालय चलाउँछन् । त्यहाँ करिब ५० विद्यार्थी अहिले अध्ययनरत छन् । उनीहरूको शिक्षा, खानपिन र बसोबासको धेरैजसो खर्च कोरियाली चर्चका दाताले नै बेहोर्छन् ।
उनीहरूका विद्यार्थीमध्ये एक २२ वर्षीय सपना तामाङ पनि हुन्, जो दुर्गम सिनगाङको तामाङ गाउँकी हुन् । उनले भनिन्– “मेरो बुबा चर्च जानेलाई घृणा गर्नुहुन्थ्यो किनभने आफ्नो परम्परा बिर्सनुहुँदैन भन्नेमा उहाँ विश्वास गर्नुहुन्थ्यो ।”
उनले इसाई धर्मबारे आफ्ना काकाबाट थाहा पाएकी हुन्, जुन बेला उनी अत्यन्तै बिरामी थिइन् । उनले आफू इसाई भएपछि आफ्नो रोग सन्चो भएको दाबी गरिन् । “म येसुका लागि बाँच्न चाहन्थेँ । अन्तत: कसले मलाई माया गर्दो रहेछ भन्ने मैले थाहा पाएँ” उनले भनिन्।
उनको जस्तो दुर्गम गाउँहरू पाङ जस्ता कोरियाली प्रचारकका लागि नयाँ मोर्चा हुन् । “सहरमा धर्म परिवर्तन गराउने विरुद्धको कानुनबारे सबैलाई थाहा हुन्छ । सहरभन्दा टाढा भने कमैको ध्यान पुगिरहेको हुन्छ” पाङले भने ।
सपनाले गत वर्ष मेसिनरीको पढाइ पूरा गरिन् । अब उनको योजना पहाडमा रहेको आफ्नो गाउँमा फर्किने र विस्तारै युवालाई चर्चको हिस्सा बनाउने रहेको छ।
येसुको उपदेश फैलाउँदा त्यसको “विद्यमान धर्म र संस्कृतिसँग द्वन्द्व हुने” पाङ चाङइन स्वीकार्छन् तर उनको विचारमा त्यस्तो खाले सांस्कृतिक झट्का त हुन्छ हुन्छ, जुन टारेर टर्दैन ।
(राजन पराजुली र रमा पराजुलीको सहयोगमा)
बी.बी.सी. जनवरी १४, २०२३ बाट