पोखरा । आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिनुभयो ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।
पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र थप तीन जना अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिनुभयो ।
बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।
सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गरिएको छ ।