रामप्रकाश पुरी ##
संसदको चुनाव सम्पन्न भएपछि फुटपरस्त तत्वहरूले आफ्ना प्रकाशनहरूमा जुन प्रकारका विचार प्रकट गरेका छन्, त्यसबाट उनीहरूबारे हामीले गर्दै आएको आलोचना सही सावित भएको छ । उनीहरूले प्रतिगमन–उन्मुख दिशा समातेको कुरा पहिलेदेखि नै बताउँदै आएका थियौँ । आफ्नो त्यस प्रकारको दृष्टिकोणका कारणले उनीहरूले, एकातिर, गणतन्त्रलाई पँुजीवादी र प्रतिक्रियावादी भनेर विरोध गर्दै आएका थिए । उनीहरूले अहिलेको गणतन्त्रलाई पुँजीवादी बताउनु गलत होइन, किनभने, अहिले देशमा कायम भएको गणतन्त्र नयाँ जनवादी गणतन्त्र होइन र त्यो पुँजीवादी सिमाभित्रकै गणतन्त्र हो ।
तर विद्यमान अवस्थामा जनताले करिब १ सय वर्ष सङ्घर्ष तथा त्याग र वलिदान गरेर ल्याएको गणतन्त्रलाई प्रतिक्रियावादी बताउनु र त्यसलाई खारेज गर्ने विचार प्रकट गर्नु निश्चित रूपले प्रतिगमन–उनमुख सोचाइ नै हो । अहिलेको गणतन्त्र पुँजीवादी प्रकारको भएपनि अहिले त्यसलाई समाप्त गर्न राजावादीहरूले संगठित र योजनावद्ध प्रकारले आन्दोलन चलाइरहेको अवस्थामा त्यसको विरोध गर्नु वा त्यसलाई समाप्त गर्न जोड दिनुको अर्थ प्रतिगामी शक्तिहरूको हातमा खेल्नु नै हो । देशका कतिपय वामपन्थी शक्तिहरूले पनि त्यही प्रकारले गणतन्त्रमाथि हमला गर्ने नीति अपनाएका छन् ।
अर्कातिर आफ्नो त्यस प्रकारको प्रतिगमन–उन्मुख नीतिका कारणले ओलीको नेतृत्वको प्रतिगमनका विरूद्धको संघर्ष वा प्रतिगमनका विरूद्धका शक्तिहरूले बनाएको गठबन्धन वा उनीहरूको चुनावी तालमेलको पनि विरोध गरिरहेका थिए । उनीहरूको त्यही प्रकारको दृष्टिकोणका कारणले प्रचण्डको पाँच दलीय गठबन्धनसित सम्बन्ध विच्छेद गरेर ओलीसित गठबन्धन गर्न गएको कदमलाई स्वागत गरेका छन् । उनीहरूले त्यसरी बनेको सरकारलाई तुलनात्मक रूपले प्रगतिशिल बताएका छन् । उनीहरूको त्यस प्रकारको अभिव्यक्तिबाट उनीहरूले प्रतिगमन–उन्मुख नीति लिएको भन्ने हाम्रो आलोचना सही सावित भएको छ । वास्तवमा उनीहरूले ओली मात्र होइन, राजावादी, भारतपरस्त र अमेरिकनपरस्त तत्वहरूसमेतसित गठबन्धन गरेर बनेको सरकारलाई स्वागत गरेका छन् । त्यसले उनीहरूको गम्भीर प्रकारको राजनीतिक पतनलाई बताउँछ ।
जबसम्म प्रचण्डले पाँच दलीय गठबन्धनमा सामेल भएर प्रतिगमनका विरूद्ध सङ्घर्ष गरेका थिए, त्यो बेलासम्म फुटपरस्त तत्वहरूले प्रचण्डको तिव्र विरोध गरेका थिए । तर जब उनी पाँच दलीय गठबन्धनसित सम्बन्ध तोडेर राजावादी, अमेरिकी साम्राज्यवादी र भारतीय साम्राज्यवादी समेतसित गठबन्धन गर्न पुगे, उनीहरूले (फुटपरस्त तत्वहरूले) प्रचण्ड वा उनको नेतृत्वको सरकारको स्वागत गर्न थालेका छन् ।
उनीहरूले ओलीलाई समर्थन गर्ने वा प्रतिगमनका विरूद्ध बनेको गठबन्धनलाई विरोध गर्दा सबैभन्दा बढी उठाउने गरेको तर्क नेका समेतसित एकता गर्नु नै थियो । त्यसो गर्दा उनीहरूले संयुक्त मोर्चा सम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई सामान्य रूपले पनि बुझ्न नसकेको कुरा स्पष्ट हुन्छ । उनीहरूले संयुक्त मोर्चा सम्बन्धी त्यो सिद्धान्तलाई बुझेका नै छैनन् भन्न त मुस्किल पर्छ । तर आफ्नो प्रतिगमन–उन्मुख दृष्टिकोणका कारणले संयुक्त मोर्चा सम्बन्धी सिद्धान्तलाई बुझेर पनि बुझ पचाएको कुरा नै प्रष्ट छ ।
उनीहरूले बारम्बार हाम्रो पार्टीको आठौँ महाधिवेशनले नेकालाई वर्गीय दृष्टिकोणले दुश्मन शक्ति बताएको कुरा उठाउँदै त्योसँग कार्यगत एकता वा सहकार्य गरेको कुरालाई आठौँ महाधिवेशनको निर्णयका विरूद्ध गएको बताएका छन् । तर माक्र्सवादी–लेनिनवादीहरूले संसारभरमा अपनाएका संयुक्त मोर्चा सम्बन्धी नीतिबाट कुनै विशिष्ट राजनीतिक परिस्थितिमा दुश्मन शक्तिहरूसित पनि कार्यगत एकता वा सहकार्य गर्नु पर्दछ भन्ने कुराप्रति आँखा चिम्लेको देखिन्छ । त्यस प्रकारको नीतिका कारणले नै संयुक्त मोर्चा सम्बन्धी नीतिका कारणले नै हामीले २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई समाप्त गर्न र २०६२/०६३ को संयुक्त आन्दोलनबाट राजतन्त्रलाई समाप्त गरेर गणतन्त्रको स्थापना गर्न सफल भएका थियौँ ।
तर अहिले उनीहरूको जोड गणतन्त्रलाई समाप्त गर्नेतिर नै केन्द्रित छ । त्यसकारण संयुक्त मोर्चा सम्बन्धी हामीले गतकालमा अपनाएको नीति वा द्धितीय विश्वयुद्धको कालमा स्तालिनले साम्राज्यवादी शक्तिहरूसित र चीनमा माओले चाङ्काइसेकसित अपनाएको कार्यगत एकता वा सहकार्यको नीतिको औचित्यतालाई बुझ्न सकिरहेका छैनन् वा त्यसबारे बुझ पचाउने प्रयत्न गरिरहेका छन् । उनीहरूले त्यस्तो यस कारणले गरेका छन कि उनीहरू झन् पछि झन् नाङ्गो प्रकारले प्रतिगमनको सेवामा गइरहेका छन् ।
भारतीय साम्राज्यवादप्रति पनि उनीहरूले पहिले नै सम्झौतापरस्त दृष्टिकोण अपनाएका थिए । अब संसद र सरकारमा समेत अमेरिकी साम्राज्यवादको प्रभाव बढ्दै गइरहेको छ । अब उनीहरूले त्यसप्रति पनि सम्झौतापरस्त दृष्टिकोण अपनाउन थालेको देखिन्छ । त्यसैले उनीहरूले प्रचण्डको नेतृत्वमा अमेरिकी साम्राज्यवादपरस्त र भारतीय साम्राज्यवादपरस्त समेतको गठबन्धनबाट बनेको सरकारलाई प्रगतिशील बताउन पुगेका छन् ।
जबसम्म प्रचण्डले पाँच दलीय गठबन्धनमा सामेल भएर प्रतिगमनका विरूद्ध सङ्घर्ष गरेका थिए, त्यो बेलासम्म फुटपरस्त तत्वहरूले प्रचण्डको तिव्र विरोध गरेका थिए । तर जब उनी पाँच दलीय गठबन्धनसित सम्बन्ध तोडेर राजावादी, अमेरिकी साम्राज्यवादी र भारतीय साम्राज्यवादी समेतसित गठबन्धन गर्न पुगे, उनीहरूले (फुटपरस्त तत्वहरूले) प्रचण्ड वा उनको नेतृत्वको सरकारको स्वागत गर्न थालेका छन् । उनीहरूको नीतिमा भएको त्यस प्रकारको ‘युटर्न’ परिवर्तनले उनीहरूलाई कुन दिशामा लैजाने छ ? हेर्न बाँकी छ ।