मेरठ । रोजगारीको शिलशिलामा भारतको मेरठ शहरमा काम गर्दै आएका कैलालीको गौरीगंगा नगरपाकिला–१ गोप्काको नदी किनार निवासी चन्ने भुल आफू र परिवारका २ सदस्यसहित पैसा कमाउन पुगेका थिए । तर उनी पैसा लिएर स्वदेश फर्किएनन् । स्वदेश फर्कियो त उनको परिवारको केवल लास मात्र।
भुल परिवारले मेरठमा एक सेठको घरमा काम गर्ने र उनकै घरमा बस्ने गर्दथे । गत पुस १५ गते सेठको घरमा पार्टी थियो । तर त्यसैदिन राति तीनै जना एकसाथ मृत्यु भएको समाचार छ ।
बाहिर फैलाइएको हल्ला अनुसार राति सुत्दा कोइला बालेर सुतेका र धुवाँले निसासिएर मृत्यु भएको भन्ने स्थानीय पत्रपत्रिका एवं भूल परिवारले काम गर्ने गरेको घर परिवारले बताएका छन् । तर, मृतकको टाउकोमा घाउ भएको र रगत बगेको देखिएकाले घटना शंकास्पद देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मेरठ नगर समितिका अध्यक्ष जीवन शर्मासहितको टिमले पोष्टमार्टम रिपोर्ट नआउँदै शव अन्यत्र लैजान नहुने दबाब दिएका थिए । तर भूलका सेठले प्रशासनको मिलिभगतमा शर्मालाई कस्टडीमा राखि भुल परिवारको शव नेपाल पठाएको समाचार छ ।
भुल परिवारको शव नेपाल लगेर दाहासंस्कार गरे पश्चात मात्रै शर्मालाई कस्टडीबाट छोडिएको थियो । यसरी न्यायको आवाजलाई दबाउनु नै सबैभन्दा ठूलो शंकाको विषय बनेको मूल प्रवाहले जनाएको छ ।
यो सत्य हो कि, कोइला जलाएर कोठा बन्द गरि सुत्दा मानिसको मृत्यु हुन्छ । कोइला बाल्दा उत्पन्न हुने कार्बन मोनो अक्साइड नामक ग्यास उत्पन्न हुन्छ । उक्त ग्यासले मानिस एवं अन्य जीब जन्तुलाई पनि श्वास प्रश्वासमा नोक्शान पुर्याउँछ ।
तर धुवाँले मृत्यु भएको भए शवको टाउकोमा घाउ र रगत कसरी भयो ? यो भने रहस्यको विषय बनेको छ । मृतकको टाउकोमा घाउ र रगत हुनु, मोष्टमार्टमको रिपोर्टको माग गर्ने जीवन शर्मालाई कस्टडीमा थुन्नुले कतै स्वयं भुलका सेठ नै हत्यारा त होइनन् ? वा हत्यारालाई बचाउन त खोजिरहेका छैनन् ? प्रश्न गर्ने ठाउँ छ ।

