काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारको जग्गा कब्जा सम्बन्धी छानबिन प्रतिबेदन सरकारलाई बुझाएको छ । सीआईबीको अनुसन्धान टोलीले तयार पारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयलाई बुझाएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
भूमाफिया र कर्मचारीको मिलोमतोमा ललिता निवासको जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन तयार पारिएको छ । उच्च पदस्थ सरकारी अधिकारी तथा मालपोत, नापी र गुठी संस्थानका कर्मचारीले जग्गा दलाल (भूमाफिया) सँग मिलेर बालुवाटार जग्गा व्यक्तिको नाम गराएको निष्कर्षसहितको प्रतिवेदन उल्लेख छ ।
स्रोतका अनुसार सरकारी जग्गा व्यक्तिको नाम गराउन मुख्य भूमिका खेल्ने रामप्रसाद सुवेदी र शोभाकान्त ढकालसहित उच्च पदस्थ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको छ । एक सयभन्दा बढी मालपोत, नापी, गुठीका कर्मचारीविरुद्ध कारबाहीको सिफारिस गरिएको छ ।
सीआईबीले अख्तियारका पूर्वप्रमुखआयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात र छवि पन्तको संलग्नता देखाएको छ । सीआईबीको प्रतिवेदनमा बालुवाटारको २ सय ९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको उल्लेख छ ।