काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ ।
मंगलबार बिहान बसेको सचिवालय बैठकले सरकारलाई ससर्त समर्थन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
खतिवडाले भने, ‘बैठकले यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ, अहिले विश्वासको मत दिन्छ, हाम्रा एजेन्डाहरू राखिनेछन्, ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय छ।’
प्रधानमन्त्री दाहालले आज (मंगलबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची छ।
लोसपाले पनि विश्वासको मत दिने
यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिने भएको छ।
मंगलबार काठमाडौंमा सबेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय लिएको नेता शरदसिंह भण्डारीले बताए ।