विराटनगर । प्रदेश १ मा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने भएका छन् ।
प्रदेश सरकार गठनको दाबी पेश गर्न दिएको अन्तिम दिन आज नेकपा माओवादी केन्द्रले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेसँगै कार्की आजै मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।
एमालेले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो। माओवादी केन्द्रले संसदीय दलका नेता रहेका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो।
पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए।
९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ।
केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।
प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।
सभामुखको निर्वाचन पुस २८
यसैबीच प्रदेश १ मा सभामुख र उपसभामुखको निर्वाचनको मिति तय भएको छ । विराटनगरमा आइतबार सम्पन्न सर्वदलीय बैठकले आगामी पुस २८ गते सभामुख र ३० मा उपसभामुखको निर्वाचनको मिति तय गरेको हो ।
सभामुखको निर्वाचनका लागि मंगलबार बस्ने प्रदेश सभा बैठकले कार्य कार्यतालिका सार्वजनिक गर्ने र उपसभामुखका लागि २८ गते कार्य तालिका सार्वजनिक गर्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
सत्ता साझेदार दलहरुबीचको सहमति अनुसार प्रदेश १ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीको भाममा परेको छ।