काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले २०७९ पुस २१ गते बिहीबारदेखि विभिन्न सेवाप्रवाहमा टाइमकार्ड लागु गरेको छ ।
त्यस्तै गुनासो सुन्न प्रजिअ आफै सक्रिय हुनुहुने छ भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दुधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ ।
यसले प्रशासनको सेवाप्रवाहलाई चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।
कार्यालयबाट उपलब्ध हुने विभिन्न १० ओटा सेवा प्रवाहका लागि समय तोकिएको र चारओटा सेवामा भने आजैदेखि समय कार्ड लागु भएको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नयाँ नागरिकता, सङ्घसंस्थाको नवीकरण, नाबालक प्रमाणपत्र प्राप्ति र मुद्दाको पेसी तथा तारिखमा टाइमकार्ड लागु गरिएको छ ।
उहाँले नागरिकताका लागि एक घण्टा, संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक प्रमाणपत्र प्राप्तिका लागि एक घण्टा र मुद्दाको पेसी र तारिखमा ३० मिनेटभित्र सेवा प्रवाह गर्ने गरी समय कार्य तोकिएको जानकारी दिनुभयो ।
नयाँ नागरिकतामा मात्रै समय कार्ड लागु भएको तर प्रतिलिपि लिनका लागि भने लागु भएको छैन । कसैले आफ्नो नागकिरता बनाउनुपर्याे भने आवश्यक कागजपत्र लिएर प्रशासन गएर बुझाएपछि फाँटका कर्मचारीले हेरेर कागजात पुग्यो भनेको एक घण्टाभित्रमा नागरिकता दिने गरी टाइमकार्ड लागु गरिएको जनाइएको छ ।
तयार भएको राष्ट्रिय परिचय पत्र वितरणमा व्यक्ति सम्बन्धित फाँटमा आएर सम्पर्क गरिसकेपछि ३० मिनेटभित्रमा कार्ड प्राप्त गर्न सक्ने छन् । तयार भएको राहदानी वितरणमा सम्बन्धित फाँटमा पुगेपछि १५ मिनेटभित्रमा दिने गरी समय तोकिएको छ । अन्य सेवामा पनि समय तोकिइसकेको र निकट भविष्यमै लागु गर्दै जाने काठमाडौँ प्रशासनले जनाएको छ ।
मुख्यतः संस्था नवीकरण, नागरिकता प्राप्ति, नाबालिग परिचय पत्र, मुद्दा पेसी तोक्ने, मुद्दाको तारिख, प्रिन्ट भएर आएका राहदानी वितरण, राष्ट्रिय परिचय पत्र कार्ड वितरण, जिल्ला प्रशासनले गर्ने विभिन्न सिफारिसलाई समयबद्ध बनाइएको हो । अनुसन्धान सकिएपछि मुद्दाको अन्तिम किनारा ६० दिनभित्रमा सक्ने गरी टाइम कार्ड बनाइएको छ ।
प्रजिअले गुनासो सुन्ने
प्रशासनबाट प्राप्त हुने यस्ता सेवामा गुनासो भएमा प्रजिअले शुक्रबारबाहेक अन्य बार ३ देखि ४ बजेसम्म गुनासो सुन्ने गरी आवश्यक व्यवस्थापन पनि गरिएको छ । आएका गुनासोलाई सुन्ने र त्यसलाई सम्बोधन गर्नेगरी प्रजिअलाई नै तोकिएको छ ।
यसका साथै अशक्त, दुधे बच्चासहितको महिलालाई पालो (क्यु) मा नराखी सिधा सेवा दिने तथा ६५ वर्षमाथि उमेर भएकाको हकमा प्रशासन कार्यालयले नै सहयोगी राखेर सेवा दिने व्यवस्था पनि मिलाइएको काठमाडौँका प्रजिअ उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले विगत लामो समयदेखिको प्रयासमा राष्ट्रिय परिचय पत्र तथा नागरिकताको लाइन लाग्ने अवस्था हटेको जानकारी दिँदै अझै प्रभावकारी सेवा वितरण गर्नका लागि आवश्यक सुधार गर्दै लगिने बताउनुभयो । उहाँले परिचय पत्र र राहदानी वितरणमा अझै केही समस्या कायमै रहेको पनि बताउनुभयो ।