देउखुरी । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि आह्वान गरेको छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई पुस २७ गते दिउसो ४ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न कसैको बहुमत नआएकाले उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न भनिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्दछ। यसअघि पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको छ।