काठमाडौं । ललितपुरको तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको छ । गर्बुजा पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) भएको बताइएको छ ।
प्रहरीका अनुसार उनीहरू बुधबार राति सो क्लबमा गएका र राति क्लबको बाथरुमको साउना (तातो आउने विशेष व्यवस्था भएको) मा नुहाउन पसेका थिए । साउनामा नुहाउँदा निश्चित समयमा निस्किनुपर्ने हुन्छ।
धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए । तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
गर्बुजामगर दम्पति निश्चित समयमा ननिस्किएका कारण अक्सिजन नपुगेर मृत्यु भएको अनुमान गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको पनि उनले बताए।