जापान । जापानमा ६० जना नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओले नेपाली विद्यार्थीलाई छात्रवृत्ति घोषणा गरेको हो ।
छात्रवृत्तिका लागि आईएचएनओले आवेदन खुला गरेको एनआरएनए जापानले जनाएको छ । जापानमा रहेका नेपाली विद्यार्थीले छात्रावृत्तिका लागि आवेदन दिन सक्नेछन् । उक्त छात्रवृत्तिको आवेदन जनवरी २७ सम्ममा आईएचएनओको ठेगानामा पोष्ट गरिसक्नुपर्ने बताइएको छ ।
छात्रवृत्तिका लागि अध्ययन गर्दै गरेको विद्यालय÷कलेजबाट सिफारिस लिनु पर्ने, फारम आईएचएनओबाट उपलब्ध हुने, विद्यालय÷कलेज परिवर्तन गर्न नयाँ विद्यालय÷कलेजबाट सिफारिस लिनु पर्ने छ।
यस्तै, कामको हकमा हप्तामा २८ घण्टाको नियम पालना गर्नुपर्ने साथै बिदाको बेलामा हप्तामा ४० घण्टासम्म काम गर्न मिल्ने छ। तर प्रत्येक दिन ८ घण्टा भन्दा धेरै काम गर्न नपाउने लगायतका मापदण्ड रहेका छन् ।
आवेदन दिन रेसिडेन्ट कार्डको फोटोकपी, आवेदन फारम (विद्यालयले सिफारिस गर्ने फारम सहित २ पेज), बैंक खाता नम्बर र खातावालको प्रष्ट नाम भएको पासबुक फोटोकपी, जापानी भाषामा नेपालको भविष्य अथवा नेपाली विद्यार्थी जापान आउनुको उद्देश्य शिर्षकको चार सयदेखि आठ सय शब्दसम्मको हस्त लिखित निबन्ध र जापानमा प्राप्त आफ्ना सर्टिफिकेट पेश गर्नु पर्ने नियम रहेको एनआरएनए जापानले सूचनामार्फत जनाएको छ ।