सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर दंगाग्रस्त क्षेत्र घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ः३० बजेदेखि वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इलाम, पश्चिममा वागेसिम, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा ५०० मिटरको दूरीसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक आज बिहान ८ः३० बजे महावै गाउँपालिका–३ सिमखेत घर भएका २१ वर्षीय केशरबहादुर सिंहको भे १ ख २२४२ नं को टिपरले किचेर मृत्यु भएपछि विरेन्द्रनगर तनावग्रस्त भएको थियो ।
उत्तेजित भिडबाट तोडफोड, आगजनी र धनजनको क्षति हुने सम्भावित खतराबाट सुरक्षा स्थितिलाई नियन्त्रण लिन दंगाग्रस्त क्षेत्र घोषणाको आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार दंगाग्रस्त क्षेत्र घोषणा भोलि बिहान ६ बजेसम्म जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन (संशोधनसहित), २०२८ को दफा ६ बमोजिम जिप्रकाले निषेध गरिएको क्षेत्रभित्र कोही कसैलाई आवतजावत गर्न, भेला वा जम्मा हुन वा अन्य कुनै पनि काम गर्न नपाउने गरी दंगाग्रस्त क्षेत्र घोषणा आदेशको सूचना जारी गरेको हो ।

