काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले बजारमा नयाँ लगानी रोकेर भए पनि राष्ट्र बैङ्कको सापटी भुक्तानी गरेका छन् ।
राष्ट्र बैङ्कबाट स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका त्यस्ता संस्थाले पछिल्लो समय यस्तो सापटी सुविधालाई शून्य नजिक पुर्याएका हुन् ।
गत असार मसान्तमा बैङ्कहरूले उपयोग गरेको एसएलएफ सुविधा रु एक खर्ब ४८ अर्ब बराबर थियो । राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठका अनुसार अहिले यो आकार रु दुई अर्बमा झरेको छ । राष्ट्र बैङ्कको खुला बजार कारोबारसम्बन्धी विनियमावलीमा भएको संशोधनका कारण यस्तो उपयोग घटेको उहाँको भनाइ छ ।
राष्ट्र बैङ्कले यही पुस १ गतेदेखि लागु हुने गरी उक्त विनियमावली संशोधन गर्दै एसएलएफ सुविधाको सीमालाई १० गुणाभन्दा धेरै सङ्कुचित बनाएको थियो । नयाँ व्यवस्थाअनुसार बैङ्कहरूले अघिल्लो हप्ता कायम रहेको निक्षेपको बढीमा एक प्रतिशतसम्मको तरलता मात्रै तोकिएको बैङ्कदरमा उपयोग गर्न सक्छन् ।
झन्डै रु ५२ खर्बका आधारमा बैङ्क तथा वित्तीय संस्थाले अहिले बढीमा रु ५२ अर्बसम्म मात्रै पाउने अवस्था छ । त्योभन्दा बढी तरलताका लागि बजारको प्रतिस्पर्धी बजारअनुसार ब्याज तिर्नुपर्छ । यसका लागि राष्ट्र बैङ्कले दीर्घकालीन रिपो तथा निक्षेप उपकरणको प्रयोग गर्ने नीति बनाएको छ ।
संशोधित नियमावली लागु हुनुअघि बैङ्कहरूले सरकारी सुरक्षण पत्रको ९० प्रतिशतसम्म स्थायी तरलता सुविधा पाउँदै आएका थिए । विनियमावली लागु गरेर बैङ्कलाई स्थायी तरलता सुविधालाई अत्यावश्यक औजारका रूपमा मात्रै उपयोग गराउन खोजेको कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।
‘पहिले राष्ट्र बैङ्कले जति पनि एसएलएफ दिने भएकाले बैङ्कहरूले यसलाई सामान्य वित्तीय औजारका रूपमा उपयोग गर्थे’ उहाँले भन्नुभयो– ‘विनियमावली संशोधनपछि अत्यावश्यक अवस्थामा मात्रै उपयोग गर्ने गरी स्पेस राखेका छन् । भोलिका दिनमा तरलताको समस्या आजभन्दा बढ्न सक्छ । त्यस्तो भयो भने उपयोग गर्नुपर्छ भनेर अहिले उपयोग नगरेको देखिन्छ ।’
नेपाल बैङ्कर्स सङ्घको तथ्याङ्कअनुसार पुसभित्रमा वाणिज्य बैङ्कहरूले रु ५७ अर्ब निक्षेप विस्तार र सङ्कलन गर्दा थप रु दुई अर्ब कर्जा बढाएका थिए । त्यस्तै, पुस पहिलो साता रु २० अर्ब निक्षेप बढ्दा कर्जा लगानी रु एक अर्बले मात्रै वृद्धि भएको थियो । यो रकम बैङ्कहरूले एसएलएफ तथा पुनरकर्जाको भुक्तानीका लागि उपयोग नगरेको देखिन्छ ।
६५ अर्ब पुनरकर्जा भुक्तानी
असारदेखि हालसम्म बैङ्कहरूले झन्डै रु ६५ अर्ब पुनरकर्जा भुक्तानी गरेका छन् । असार मसान्तसम्म रु एक खर्ब १२ अर्ब रहेको पुनरकर्जाको आकारलाई पुस पहिलो सातासम्म आइपुग्दा बैङ्कहरूले रु ४७ अर्बमा झारेका छन् ।
अघिल्लो वर्ष लिइएको उक्त पुनरकर्जा सुविधाको समयावधि एक वर्ष हुने गर्छ । यसमध्ये धेरैजसो पुनरकर्जाको अवधि यही पुसभित्र सकिँदै छ । यस वर्ष राष्ट्र बैङ्कले पुनरकर्जाका लागि आवेदन नखुलाएपछि बैङ्कले सबै रकम फिर्ता गर्नुपर्ने अवस्था छ । त्यसकारण पनि बैङ्कले बजारमा थप लगानी नगरेर आन्तरिक ट्रेजरीलाई सुधार गर्ने नीति लिएका छन् ।