जनकपुरधाम । मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले ज्येष्ठ सदस्यको रुपमा न्यौपानेले आज शपथ ग्रहण गर्ने र भोलि (शुक्रबार) न्यौपानेले बाँकी नवनिर्वाचित प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको जानकारी दिए ।
मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको सचिव यादवले जानकारी दिए ।
सबैभन्दा बढी ५६ जना प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा शपथ लिने भएका छन्। त्यस्तै बज्जिका भाषामा १३, मैथिली भाषामा १०, भोजपुरी भाषामा ७, थारु भाषामा ३ तथा मगही र हिन्दी भाषामा २’२ जना प्रदेशसभा सदस्यहरुले शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ।
उर्दु भाषामा एक मात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिने छिन्।
यता, जनमत पार्टीका सांसदहरुले भने भाषा टिपाएका छैनन् । अध्यक्ष डा. सिके राउतले प्रतिनिधिसभामा पद तथा गोपनीयताको शपथ मधेश भाषामा लिए। भाषा आयोगमा सूचिकृत नै नरहेको भाषामा राउतले शपथ लिएको भन्दै विरोध भएको थियो ।





