काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएको तेस्रो दिनमा पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार सरेका छन् । ज्योतिष टीकाराम घिमिरसँग साइत हेराएका उनले दिएको साइतमै प्रचण्ड सरकारी निवास बालुवाटार सरेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड ज्योतिष घिमिरले दिएको बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरे।
यता, बालुवाटार सर्नका लागि ज्योतिषीसँग साइत हेराएको समाचार बाहिरिएपछि माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्षसमेत रहेका प्रचण्डमाथि व्यंग्य गरेका छन्।
न्यौपानेले अध्यक्ष दाहालमाथि मालेमावादको सिद्धान्तबाट विचलित भएको टिप्पणी गरेका हुन्। कम्युनिष्ट पार्टीको अध्यक्ष साइत हेराउनेतिर लागेकोमा उनको आपत्ति थियो।
‘दौरा सुरुवाल लगाउने, ज्योतिषी बोलाएर साइत जुराउने! अब बोको काटेर ग्रह कटाउने, हाम्रो पार्टी अध्यक्ष’ उनले भनेका छन्, ‘हाम्रो पार्टीको नाम नेकपा (माओवादी केन्द्र), हाम्रो मार्ग निर्देशक सिद्धान्त–मालेमावाद, माओवादीको भविष्य!’
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि घिमिरेले दिएकै साइतमा बुधबार बिहान बालुवाटारबाट धुम्बाराही सरिसकेका छन्।