काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नयाँ सरकार बनेसँगै सांसदहरुले कति तलव सुविधा पाउँछन् भन्ने आम चासोको विषय बनेको छ । प्रतिनिधि सभामा २७५ जना निर्वाचित हुन्छन् । पुसको २५ गते दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ ।
प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमीकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । त्यस्तै, मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।
त्यस्तै, आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरुले ९ हजार रुपैयाँ मात्र पाउँछन्। सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ । सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ता बापत १ हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतको लागि भनि थप १ हजार रुपैयाँ पाउनेछन्।
थप सुविधाको रुपमा सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्रांकित तृतिय श्रेणी सरहको स्वकिय सचिव नियुक्त गर्न दिनेछ। स्वकिय सचिवको सेवा सुविधा स्वयं स्वकियको नै खातामा हालिदिने गरिएको छ। सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत २ हजार ५०० पाउनेछन् भने विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन्। त्यसैगरी देशको प्रतिनिधित्व गर्दै अथवा संसदको कामको सिलसिलामा विदेश जानुपरेमा संसद सचिवालयको सिफारिसमा राहदानी विभागले कुटनीतिक राहदानी उपलब्ध गराउने छ।
त्यस्तै, सांसदहरुले उपचार खर्च पनि पाउने गरेका छन्। कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको सहायक छ। त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन्।
सांसदहरुले पेश्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा ३ महिना सम्मको लिन सकिने व्यवस्था रहेको छ। विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको र राष्ट्रिय सभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा १ वर्ष सम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था छ।