काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ ।
नक्सालस्थित मेरियोट होटलमा आयोजित भव्य घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्ने जनाएको छ। १८ वर्ष माथिका व्यक्तिले यस प्रतियोगिताको लागि आवेदन दिन सक्छन्। यी शोहरुमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्छन।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ। हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुःखमा परेकाहरूलाई मद्दत गर्नुमा छ। फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो।’
यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले अनलाइन आवेदन दिन सक्ने छन्। प्राथमिक छनौट प्रक्रिया पछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेेछ। यी दुवै शोहरुको आवेदन दिने मिति जनवरी को अन्तिम तारिक तोकिएको छ।
कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन्। साथै मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ। यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन्। उनले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरुको निर्देशन गरिसकेका छन् जस्तै नेपाल आइडल, बूगी—वूगी, नेपाल लोक स्टार, सारेगमपा लिल् च्याम्पस्।
यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन्। फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले रु एक करोड पाउनेछन्। साथै फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन्। यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि रु एक करोड पुरस्कार पाउनेछन्। भने फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेको छ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ।
फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरुमा काम गरिरहेको छ।