काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले १३०औँ माओ जयन्तीका अवसरमा शुभकामना सन्देश व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले सोमबार (११ पुस) एक प्रेस वक्तव्य प्रकाशित गरी माओको १३० औँ जयन्तीको अवसरमा संसारका क्रान्तिकारी कम्युनिस्ट, परिवर्तनकारी जनता र नयाँ विश्वका लागि संघर्षरत सम्पूर्ण मानवसमुदायप्रति क्रान्तिकारी अभिनन्दन व्यक्त गर्नुभएको छ ।
मसालले संसारभरि दक्षिणपन्थी अवसरवाद हावी हुन पुगेको र साम्राज्यवाद विरुद्धका मुक्ति आन्दोलन कमजोर हुनुका साथै राष्ट्रिय क्रान्तिमा पनि गम्भीर बाधा पुगेको बताएको छ ।
साथै, मसालले ‘संसारमा क्रान्तिको विजय हुनेछ र जनताले मुक्तिको लागि राष्ट्रिय क्रान्तिका युगहरु सिर्जना गर्न सफलता प्राप्त गर्ने’ विश्वाससमेत व्यक्त गरेको छ ।
यस्तो छ वक्तव्य
हामीले कामरेड माओको १३० औँ जयन्तीको अवसरमा संसारका क्रान्तिकारी कम्युनिस्ट, परिवर्तनकारी जनता र नयाँ विश्वका लागि संघर्षरत सम्पूर्ण मानवसमुदायप्रति क्रान्तिकारी अभिनन्दन व्यक्त गर्दछौँ ।
का. माओको क्रान्तिकारी शिक्षा र सिद्धान्त विश्व कम्युनिस्ट आन्दोलनका लागि मार्गदर्शक रहेको छ । का. माओले किसान वर्गलाई क्रान्तिको महत्वपूर्ण वर्गको रुपमा विश्लेषण गरेर सर्वहारा समाजवादी क्रान्तिपूर्व सर्वहारावर्गले किसानवर्गलाई साथमा लिएर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सक्ने सिद्धान्त प्रतिपादन गरेका थिए । त्यो सिद्धान्त प्रतिपादन गर्ने बेलामा माओले कम्युनिस्ट आन्दोलनमा रहेका दक्षिणपन्थी अवसरवाद र ‘वामपन्थी’ अवसरवादका विरुद्ध पनि कडा संघर्ष गरेका थिए । विसौँ शताब्दिमा का. माओको नेतृत्वमा संशोधनवाद विरुद्ध झण्डा उठाइएको थियो ।
आज विश्व कम्युनिस्ट आन्दोलन गम्भीर रक्षात्मक अवस्थामा रहेको छ । संसारभरि दक्षिणपन्थी अवसरवाद हावी हुन पुगेको छ । त्यसले गर्दा आज साम्राज्यवाद विरुद्धका मुक्ति आन्दोलन कमजोर हुनुका साथै राष्ट्रिय क्रान्तिमा पनि गम्भीर बाधा पुगेको छ ।
विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको बेलामा पनि स्वयम् क्रान्तिकारी कम्युनिस्ट आन्दोलनभित्र विभिन्न खालका भड्काव पैदा हुने गरेका छन् । त्यस प्रकारका प्रवृत्तिले पनि विश्वको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउनका लागि भूमिका खेल्ने गरेका छन् ।
आज एकातिर, साम्राज्यवादको बढ्दो प्रभाव र विश्वव्यापी दबदबा रहेको र अर्कातिर क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुले संसारका मुक्तिकामी जनताका लागि गम्भीर चुनौति र समस्या उत्पन्न भएको छ । तर हामीलाई विश्वास छ कि संसारमा क्रान्तिको विजय हुनेछ र जनताले मुक्तिको लागि राष्ट्रिय क्रान्तिका युगहरु सिर्जना गर्न सफलता प्राप्त गर्ने छन् । क्रान्ति र विकासको ऐतिहासिक नियमका आधारमा हामीले विश्वासपूर्वक भन्न सक्दछौँ कि साम्राज्यवादको हार हुने छ र विश्व मानवजातिको विजय हुनेछ । तर त्यसका लागि सुदृढ र क्रान्तिकारी संगठनको निर्माणमा सँधै जोड दिनुका साथै माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको मार्गमा दृढतापूर्वक अगाडि बढ्नका लागि हामीले तयार हुनु पर्दछ । हामी त्यो मार्गमा दृढतापूर्वक अगाडि बढ्दै आएका छौँ र भविष्यमा पनि अगाडि बढ्ने कुरा निश्चित छ । हामीले सम्पूर्ण मानवजातिलाई त्यस दिशामा अगाडि बढ्नका लागि माओविचारधाराले प्रेरित गरिरहने छ भन्ने आशा र विश्वास व्यक्त गर्दछौँ ।
२०७९ पौष ११ गते ।
मोहनविक्रम सिंह
महामन्त्री