टेकराज भुसाल (बुटवल) ।
बुटवलका तीन जना युवा चिकित्सकहरुले अत्याधुनिक प्रविधिबाट बुटवलको पुष्पलाल पार्क नजिकै लर्ड बुद्ध दन्त सेवा शनिबारदेखि शुभारम्भ गरेका छन ।
शुभारम्भ कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका छन् ।
प्रदेश सांसद तारा जिसीले हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउने गरी सस्तो र गुणस्तरीय सेवा दिनु पर्ने बताउनुभयो । स्वास्थ्य उपचार सेवा महंगो भएकाले गरिवीको रेखामुनी रहेका जनताले उपचार गराउन नसकी मृत्युवरण गर्न परिरहेको उहाँको भनाई थियो ।
सांसद जिसीले शिक्षा र स्वास्थ्यलाई सस्तो बनाउनु पर्ने पनि बताउनुभयो । शिक्षा, स्वास्थ्य निःशुल्क गराउने दायित्व सरकारको भएको उल्लेख गर्दै तिनै तहका सरकारले जनताप्रतिको दायित्व पुरा गर्न नसकेको आरोप पनि लगाउनुभयो ।
त्यस्तै, डाक्टर महिमा भुसालले अहिले नेपालमा करिब २८०० भन्दा बढी दन्त चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका जानकारी दिँदै ती मध्ये १ चौथाई नेपाल बाहिर रहेका बताउनुभयो । नेपाल सरकारको मातहतमा देशभर ३० चिकित्सक ,१३ दन्त सहायक र केही करारका चिकित्सक मात्र दरबन्दीमा कार्यरत रहेको डा. भुसालको भनाई थियो ।
‘करिब तीन करोड जनताको लागि ३० चिकित्सक मात्रै हुँदा सबै वर्गका जनताले शुलभ दन्त सेवा पाउने त सम्भावना नै रहेन । सबै जनताको मुुखको स्वास्थको सुरक्षा गर्न कम्तीमा पनि सबै स्थानीय तहसम्म दन्त चिकित्सकहरुबाट सेवा प्रदान गर्ने व्यवस्था गर्न तिनै तहका सरकारहरु र सरोकारवाला सचेत वर्गले प्राथमिकतासाथ नितिगत एवम् कार्यसन्चालन सम्बन्धि निर्णय गर्न जरुरी देखिन्छ’ डा. भुसालले भन्नुभयो ।
कार्यक्रममा नेपाल डेण्टल हाइजेनिष्ट एशोसिएसनका महासचिव अमृत भुसाल, डाक्टर तिर्थनारायण शाह, डाक्टर गान्धीराज उपाध्याय, रुपन्देही व्यापार संघका निवर्तमान अध्यक्ष पदम श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिलकुमार श्रेष्ठ, अखिल नेपाल उधोग व्यापार संघका अध्यक्ष ढुण्डीराज शर्मा, दिनेश दर्नाल लगायतले बोल्दै चेतनाको अभावले दांतका रोगीहरुको संख्या बढेको बताएका थिए।
कार्यक्रम लोकराज भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो।