काठमाडौं । नेपाल घुम्न आएका ८ भारतीयको मकवानपुरको थाहा नगरपालिका ४ दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा मृत्यु भएको छ । भारतको केरलाबाट नेपाल घुम्न आएको १५ जनाको टोली मध्ये मृतक ८ जना एकै कोठामा हिटर बालेर सुतेका थिए ।
मृत्यु हुनेमा प्रवीणकृष्ण नायर, सांख्य शशी, श्रीभद्र, आर्या प्रवीण, अभिनव स्वरांगे नायर, वैष्णव रञ्जित, रञ्जित तुमार र इन्द्र लक्ष्मीरहेका छन् । मृतकमध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष रहेका छन्।
मंगलबार बिहान अचेत भेटिएका उनीहरुलाई उपचारका लागि हेलिकोपटरबाट काठमाडौं पठाइएपनि अस्पताल पुर्याउनासाथ मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार उनीहरु घुमफिरको लागि नेपाल आएका थिए । रिसोर्टमा राति आएका उनीहरू हिटर लगाएर झ्यालढोका डामडुम लगाएर सुतेका थिए । रिसोर्टका वेटरले ७ बजे चिया लैजाँदा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।