टेकराज भुसाल (टेकु) बुटवल ।
प्रदेश ५ की सांसद तारा जिसीले एमसीसी पास भए नेपाल साम्राज्यवादीको क्रिडास्थल हुने बताउनुभएको छ । इतबारदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिबेशनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी सांसद जिसीले संघीय सरकारले एमसीसीलाई संसदद्वारा पारित गराएर देशलाई अमेरिकी साम्राज्यवादको क्याम्पमा लैजाने प्रयत्न गरेको बताउनुभएको छ ।
सांसद जिसीले भन्नुभयो, ‘यसले नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति त समाप्त हुने नै छ एमसीसी पारित भए नेपाल सिरिया र इराक जस्तै साम्राज्यवादको क्रिडास्थल मात्र बन्ने छ ।’जिसीले एमसीसी खारेज गर्न सबै सांसद र आम जनसमुदाय आ–आफ्नो ठाउँबाट सशक्त बिरोधमा लाग्नु पर्ने बताउनु भयो ।
बैठकमा राजमोको तर्फबाट अधिवेशन सफलताको शुभकामना दिँदै नेतृ जिसीले अर्घाखाँचीको घुम्ती नजिकै भएको बस दुर्घटनामा र देसका अन्य भागहरूमा भएका घटनामा ज्यान गुमाउने नागरिक प्रति राजमो र स्वयंम आफ्नो तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना तथा घाईतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्नुभयो।
बैठकमा नेकपाका दिपेश थारू र भूमिश्वर ढकाल, नेका बाट निर्मला क्षेत्री र फकरूद्दिन खान, संघीय फोरमबाट सन्तोष कुमार पाण्डेले अधिवेसन सफलताको शुभकामना दिएका थिए।