काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टको गाडी तोडफोड गर्ने विप्लव समूहसँग क्षतिपूर्ति भर्न माग गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्न कार्यकर्तामाथि कारबाही गर्न, गाडीमा पुगेको क्षतिको क्षतिपूर्ति भर्न तथा सार्वजनिक रूपले आत्मालोचना गर्न विप्लव समूहसँग आग्रह गर्नुभएको छ ।
साथै, सो घटनालाई मैत्रीपूर्ण ढंगबाट समाधान गर्नसमेत राजमोले आग्रह गरेको छ । चुनाव प्रचारका शिलशिलामा गत मंसिर १ गते भट्टको बा १८ च ७८१२नम्बरको निजी कार तोडफोड भएको थियो ।
यस्तो छ वक्तव्य :
२०७९ मंसिर १ गते बेलुका कैलाली जिल्ला गोदावरी न.पा. वडा नं. १ मा आफ्नो निजी सवारी साधन प्रयोग गरी पार्टी कामको सिलसिलामा गइरहेको अवस्थामा हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष का. नन्दराज भट्टको सवारी साधन (कार) माथि नेकपा (विप्लवपक्ष) का कार्यकर्ताहरूले अवरोध पु-याई गाडीमाथि ढुङ्गामुढा गरी क्षति पु-याएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नेकपा विप्लव पक्षलाई हामीले वामपन्थी तथा मित्र शक्ति मान्दछौँ । स्वयं विप्लव पक्षले पनि हाम्रो पार्टीलाई वामपन्थी तथा मित्रशक्ति मान्दछ । एउटा मित्रशक्तिले अर्को मित्रशक्तिका जिम्मेवार नेतामाथि यस प्रकारको घटना घटाउनु निश्चित रूपले दुःखपूर्ण कार्य हो । हाम्रो पार्टीले उक्त कार्यको विरोध गर्दछ ।
उक्त घटनामा संलग्न कार्यकर्तामाथि कारबाही गर्नुका साथै गाडिमा पुगेको क्षतिको क्षतिपूर्ति विप्लव पक्षले भरपाई गर्नुपर्दछ । त्यसका साथै उक्त प्रकारको घटनाप्रति विप्लब पक्षले सार्वजनिक रूपले आत्मालोचना गर्नुपर्दछ । यो घटनालाई मैत्रीपूर्ण रूपमा समाधान गर्न समेत हामीले विप्लव पक्षलाई आह्वान गर्दछौँ।’
मिति २०७९ मंसिर २६
चित्रबहादुर के.सी.
अध्यक्ष
कैलालीमा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार टोलीमाथि आक्रमण, गाडीको सिसा फुटाइयो