काठमाडौं । पाँचदलीय गठबन्धनको एउटा प्रमुख घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकार गठनका लागि भित्रभित्रै वार्ता भइरहेको बताएका छन् ।
आइतबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले दुई ठूला दलबीच सरकार निर्माणका लागि वार्ता भइरेको सूचना पाएको बताए ।
‘कांग्रेस र एमाले मिलेर भित्रभित्रै सरकार बनाउने वार्ता भइरहेको थाहा पाएका छौँ’ प्रचण्डले भने, ‘त्यसो हुँदा माओवादी प्रतिपक्षमा बस्छ। हामी संसद र सडकलाई उपयोग गर्छौँ। तर कांग्रेस र एमाले मिलेर सरकार चलाउन सक्छन् भन्ने लाग्दैन। सरकार बनाए पनि उनीहरु जुध्छन्।’
प्रचण्डले अहिले पनि माओवादी राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति रहेको भन्दै माओवादीलाई नसोधी अन्तर्राष्ट्रिय शक्ति चल्न नसक्ने बताए । उनले अन्तर्राष्ट्रिय शक्ति सक्रिय हुँदा माओवादीले सोचेजस्तो परिणाम ल्याउन नसकेको पनि जिकीर गरे ।
‘योभन्दा अगाडिका निर्वाचनमा माओवादीलाई कति भोट आए म केही भन्दिनँ। त्यो नेपालीहरुले नै गरेको चुनाव थियो, अहिलेको निर्वाचन त्यस्तो देखिएन र रहेन’ उनले भने, ‘कुरो धेरै नै गम्भीर छ। यो अलिक अर्कै कुरा हो। हामीले संविधान बनाएको हो, घोषणा पनि हामीले नै गरेको हो। संविधानपछि निर्वाचन हामीले नै घोषणा गरेको हो। अहिले त्यस्तो छैन। अलिक गम्भीर नै छ।’