धनगढी । धनगढीमा ग्रेडरले किचेर बिहीबार १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएपछि उत्पन्न तनाव आज पनि कायमै छ । शुक्रबार पनि ठाउँ ठाउँमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणबाहिर जाने भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
तर, निषेधाज्ञाको वेवास्ता गर्दै विद्यार्थीहरुले विहानैदेखि प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा उत्रिएका कैयौँ विद्यार्थी र स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा स्कुल गइरहेका बेला १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो।
मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् । विद्यार्थीको मृत्युपछि धनगढीमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेर शव उठाएको थियो। जिल्ला प्रशासन कार्यालयले स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा यथावत् रहने जानकारी दिएको छ ।