काठमाडौं । टिकापुर काण्डमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका पूर्वसांसद रेशम चौधरीको महत्व यतिबेला ह्वात्तै बढेको छ ।
सरकार निर्माणका लागि चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी निर्णायक बनेपछि रेशमलाई फकाउन गठबन्धनका नेताहरू एक पछि अर्को गर्दै सदरखोर कारागार पुगेका छन् ।
४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ४ क्षेत्र जितेको छ। यस्तै, प्रदेश सभामा पनि ७ क्षेत्र जितेको छ।
गठबन्धनलाई सरकार बनाउन केही सिट अपुग भइरहेका बेला रेशमको दललाई मिलाएर सरकार सरकार निर्माण गर्ने उनीहरुको योजना छ ।
जेलमा रहेका रेशम चौधरीलाई फकाएर सत्ता गठबन्धनमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई डिल्लीबजार सदरखोर पुगेका छन् ।
यस्तै, नेपाली कांग्रेसका नेता डिल्ली चौधरी र गृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसीले पनि चौधरीलाई भेटेर सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।
आफ्ना माग मुद्दा सम्बोधन गरे सरकारमा जान तयार रहेको चौधरीले बताएका छन्। तर, उनको पहिलो सर्त राजबन्दीको रिहाइ रहेको छ । नागरिक उन्मुक्ति पार्टीका सांसदहरु सरकारमा जाने बताइरहेका छन् । तर, अन्तिम निर्णय भने रेशमले नै गर्नेछन् । उनीहरु रेशमको निर्णय कुरेर बसेका छन् ।