काठमाडौं । पत्नी र दुई छोरासहित त्रिशुली नदीमा हामफालेका विनय लामिछानेले ऋणमा डुबेर आत्महत्या रोजेको बयान दिएका छन् । उनीसँगको बयान र प्रारम्भिक अनुसन्धानबाट ऋणमा डुबेर आत्महत्या प्रहरीले जनाएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ स्थायी घर भएका विनयको अनलाइन विजनेस थियो ।
लामिछानेको थानकोटस्थित घरमा समेत सुसाइड नोट फेला परेको छ । प्रहरीले घरमा खानतलासी गर्दा सुसाइड नोट फेला पारेको हो । सुसाइड नोटमा व्यापारमा घाटा भएपछि परिवारसहित आत्महत्या रोज्नुपरेको उल्लेख रहेको प्रहरी स्रोतले बताएको छ ।
बिहीबार साँझ लामिछाने पत्नी जमुना रेग्मी र दुई छोरासँगै धादिङको बेनिघाट रोराङ १ स्थित झोलुंगे पुलबाट हामफालेका थिए । छोराहरुलाई दुवै दम्पत्तिले च्यापेर एकसाथ फाल हालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसहित लामिछाने ससुरालीबाट फर्कंदै थिए । उनको ससुराली गोरखा हो ।
घटनापछि विनय लामिछानेको सकुशल उद्धार गरिएको थियो । पौडी खेल्न जान्ने भएकाले विनय बचेका थिए । उनकी पत्नी जमुना रेग्मीको शव फेला पर्यो । ६ महिना र दुई वर्षका छोराहरु भने हराइरहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
यो पनिः दुई बच्चासहित दम्पती त्रिशुलीमा हाम फाले