काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङ्जामा मतगणना सुचारु गर्न निर्देशन दिएको छ।
बुधबार बसेको आयोगको बैठकले मंसिर ४ गते भएको निर्वाचनलाई सदर गरी बाजुरा र स्याङ्जा–२ को विवादले रोकिएको मतगणना थाल्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन पठाएको हो ।
स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमाले लगायत केही राजनीतिक दलले पुनः मतदानको माग गरेका थिए ।
बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको थियो ।
बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एकअर्काको आरोप छ । बाजुराकै बुढीनन्दा–५ मा स्थगित मतदान भने भइसकेको छ ।
बाजुरामा सर्वदलीय बैठक बस्दै
आयोगबाट मत गणना सुरु गर्न निर्देशन सहितको पत्र प्राप्त भएसँगै मतगणनाका लागि तयारी पनि थालिएको छ ।
अहिले साढे ४ बजे सर्वदलीय बैठक डाकिएको निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना गरिने छ।
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो।
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना भएका थिए।
मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए। बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै एमाले र कांग्रेसले निवेदन दिएको थियो।
नेकपा एमालेले १५ र नेपाली कांग्रेसले ८ ठाउँको मतदान पुनः गर्न निवेदन दिएका थिए। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो। बाजुरामा ७० वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेका छन्।