काठमाडौं । समानुपातिक मतगणना अब अन्तिम चरणमा पुगेको छ । मंगलबार राति साढे १० बजे प्राप्त विवरण अनुसार हालसम्म ९९ लाख ८८ हजार ५८५ मत गणना भइसकेको छ ।
आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ।
थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।
समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा (एमाले) ले २६ लाख ९२ हजार ४५५ मत ल्याएको छ। दोस्रो नम्बरमा कांग्रेसले २५ लाख ४६ हजार ५१२ मत ल्याउँदा तेस्रोमा नेकपा (माओवादी केन्द्र) ११ लाख ४३ हजार ४३२ मत पाएको छ।
माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १४३ मत ल्याएको छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार ५७८ मत ल्याएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ३०५ र जनमत पार्टीले ३ लाख ४६ हजार ८९५ मत ल्याएका छन्।
समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा थ्रेस होल्ड कटाउन संघर्षरत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्छ कि सक्दैन भन्ने आम चासो बढेको छ । गणना भएको ९९ लाख ८८ हजार ५८५ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३०३ मत पाएको छ ।
हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दल बन्ने मापदण्ड पूरा गरिसकेका छन् ।