काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीबारे पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच जुहारी चलेको छ ।
मंगलबार जनसांस्कृतिक महासंघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई च्यासलमा सम्बोधनका क्रममा ओलीले सुकुम्बासी हटाउने खोज्ने महानगरको कदमको तीव्र विरोध गरेका थिए।
उनले सुकुम्बासीका टहरामा डोजर लगाउने भए किन राष्ट्रिय भूमि आयोग बनाएर तलब खुवाएको भन्दै सरकारमाथि प्रश्न गरेका थिए ।
ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताउँदै महानगरको कदमको आलोचना गरेका थिए।
अवैधरुपमाा बसेका सुकुम्बासीलाई हटाउन खोज्दा ओलीले विरोध गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ओलीलाई प्रश्नै प्रश्न गरेका छन्।
पटक पटक प्रधानमन्त्री भइसकेको व्यक्तिबाट सुकुम्बासीबारे आएको धारणालाई बालेनले असामान्य भनेका छन्। उनले दु्ई पटक प्रधानमन्त्री हुँदा पनि सुकुम्बासी समस्या समाधान गर्न नसकेको भन्दै आलोचना गरेका छन्।
बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए ।’
थप लेख्दै बालेन्द्रले छन्, ‘तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।’
उनले अब परिस्थिति फेरिएको भन्दै यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।