बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
मतदाताहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रममा अध्यक्ष केसीले चुनावताका गरिएका वाचा केवल चुनावी नारा मात्रै नभएर कार्यान्वयनका लागि गरिएका प्रतिवद्धता रहेको बताउनुभयो । उहाँले बागलुङका जनताका हरेक सुख दुःखमा आफू सँगसँगै रहने पनि बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष केसीसँगै प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापा सहभागी हुनुहुन्थ्यो ।
आज (मंसिर ११ गते) निर्वाचित जनप्रतिनिधिसँगै गठबन्धन दलहरुले काठेखोला गाउँपालिकाको वडा नं ३ धम्जाको असौजे, दुवारा, धम्जा, वडा नं ४ तंग्रामको धारा र चिबल्ली, वडा नं ६ बिहुको ईनारपानी, वडा नं ५ बिहुको पोखरा बजार, वडा नं. ८ लेखानीको छेडामा मतदातालाई धन्यवाद कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवर, नेपाली कांग्रेस बागलुङका सहसचिव ज्ञान कुमारी श्रीस कँडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तिलक थापा लगायत ५ दलीय गठबन्धनका जिल्ला तथा पालिकास्तरीय नेताहरुको सहभागिता रहेको थियो ।

बागलुङबाट निर्वाचित भएलगत्तै गठबन्धनका उम्मेदवारहरुले मंसिर ९ गतेदेखि नै मतदातालाई धन्यवाद अभियान सुरु गरेका हुन् । यो अभियान मंसिर १६ गतेसम्म सञ्चालन हुने छ ।





