दोहा । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इङ्ग्ल्यान्डबिचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् ।
कतारको अलबायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । समूह बी मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन् ।
समूह बी मा इङ्ग्ल्यान्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले दुई/दुई ओटा खेल खेलिसकेका छन् ।
अहिलेसम्म इङ्ग्ल्यान्डले इरानलाई ६–२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी ४ अङ्क बनाएको छ ।
त्यस्तै, इरानले इङ्ग्ल्यान्डसँग पराजय बेहोरे पनि वेल्सलाई २–० ले पराजित गरी ३ अङ्क बटुलेको छ भने अमेरिकाले वेल्ससँग १–१ तथा इङ्ग्ल्यान्डसँग गोलरहित बराबरी गरी २ अङ्क बनाएको छ । वेल्स भने इरानसँग हार र अमेरिकासँग बराबर खेली १ अङ्क मात्र बनाएको छ ।
अब यही मङ्सिर १४ गते बुधबार इङ्ग्ल्यान्ड र वेल्स तथा अमेरिका र इरानबिच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुने छ । दुवै खेल एकै समय राति १२:४५ मा हुने छ ।