काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले बालुवाटारस्थित विवादित जग्गा कब्जा गरेकाे घाेषणा गरेका छन्। बुधबार साँझ विज्ञप्ति प्रकाशित गरि विप्लव नेकपाले साे जग्गा कब्जा गरेकाे घाेषणा गरेकाे हाे ।
विज्ञप्तिमा पार्टीले अर्काे निर्णय नगरुन्जेलसम्म काेही कसैले साे जग्गा काराेबार गरेमा पार्टीले हदैसम्मकाे कारबाही गर्ने चेतावनीसमेत दिएकाे छ। विप्लव समूहले जग्गा प्रकरणका आराेपी शाेभाकान्त ढकालकाे घरकाे गेटमा बिस्फाेट गरे लगत्तै यता जग्गा कब्जाकाे घाेषणा गरेका हुन्।
बुधबार साँझ विप्लव नेकपाले काठमाडाैंकाे नागार्जुन नगरपालिका १ नर्सरी चोकस्थित शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएकाे थियाे। विस्फाेटबाट गेटमा क्षति पुग्नुका साथै घरको शिशा फुटेकाे र आँगनमा पार्किङ्ग गरी राखेको निशान कारमा क्षति भएको प्रहरीले जनाएकाे छ।
यस्ताे छ विप्लव नेकपाकाे विज्ञप्ति
सबैलाई अवगत नै छ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निरन्तर रुपमा एकीकृत जनक्रान्ति मार्फत देशमा भैरहेको भष्टाचार, दलालीकरण, माफियाकरण र लुटतन्त्रका विरुद्धमा अनवरत संघर्षमा छ। विगत लामो समयदेखि धेरै नै चर्चामा रहेको राष्ट्रिय सम्पत्ति जुन भिमशमशेरले नाती शुवर्णशमशेरको नामबाट बालुवाटार स्थित करिब २०० रोपनीमा बनाएको भव्य वर्णमहल अर्थात हालको ललिता निवासको जग्गाको बारेमा भएको चरम माफियाकरणबारे हाम्राे पार्टी नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
२००७ सालको राजनैतिक परिवर्तनसँगै राणाहरुको दरवारको राष्ट्रियकरण गर्ने शिलसिलामा ललिता निवास पनि तत्कालिन सरकारबाट सिज भएको तर बहुदल आईसकेपछि राज्यसत्ताका सबै उपरि संरचनामा फस्टाएको व्यापक माफियाकरणले गर्दा राज्यको सम्पत्ति स्वरुप राष्ट्रियकरण भएको ललिता निवासका जग्गा-माफियाका नाईकेहरु भाटभटेनी सुपरमार्केटका मालिक मिन बहादुर गुरुङ, भू-माफियाहरु शोभाकान्त ढकाल र राम कुमार सुवेदीको चंगुलमा परि राज्य सञ्चालकहरुले शुवर्णशमशेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरी राष्ट्रिय सम्पत्तिको रुपमा आएको र थप आउनसक्ने जगालाई व्यक्तिको निजी सम्पक्तिको रुपमा हुने गरी भएका किनवेचले तथाकथित कम्युनिस्ट नामधारी केपी नेतृत्वको दलाल सरकार जनता र राष्ट्रको पक्षमाभन्दा माफिया र दलालहरुको पक्षमा छ भन्ने प्रस्ट हुन्छ।
तसर्थ राष्ट्र र जनताको सम्पत्ति माफियाहरुको हातबाट पुनः राष्ट्र र जनताको हातमा ल्याउनको निमित्त माफियाहरुद्धारा कब्जा गरिएको वा किनबेच भएको अर्थात भाटभटेनी सुपरमार्केट मालिक मिन बहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँगको २१ रोपनी, श्रद्धा ग्रुपसँगको ४ रोपनी, चाचन ग्रुपसँगको ३ रोपनी, केडिया ग्रुपसँगकाे ३ रोपनी, शोभाकान्त ढकाल र राम कुमार मोदीसंग भएको २८ रोपनी, गोपाल खनाल ग्रुपसँगको ४ रोपनी, तत्कालिन एमाले र हाल सत्ताधारी नेकपाका महासचिव विष्णु पौडेलसँग भएको कित्ता न ०९ र १५ सहितको ८ आना पुरुषोत्तम पौड्यालसँगको १५ रोपनी र अन्य विभिन्न व्यक्ति र समुहसँग रहेको २९ रोपनी गरी जम्मा ११५ रोपनी जग्गा आजैका मितिबाट हाललाई पार्टी मातहत आउनेगरी कब्जा गरिएको देशभक्त, राष्ट्रपेमी र न्यायप्रेमी जनसमुदायलाई सूचित गराउन चाहान्छाैँ।
पार्टीले अर्को निर्णय नगरेसम्म माथि उल्लेखित कब्जा गरिएको जग्गा कथमकदाचित कुनै व्यक्ति वा संस्थाले किनबेच वा सो जगासँग सम्बन्धित रहेर कारोबार गरिएको पाइएमा निज व्यक्ति, संस्था वा सहयोग गर्नेलाई पार्टीले हदैसम्मको कारबाही गर्ने कुरापनि यसै मार्फत सूचित गराउन चाहन्छाैं।