प्रा.डा. श्रीधर गौतम ##
यही गत अक्टोम्बर महिनाको मध्यतिर सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनबाट चीनका वर्तमान राष्ट्रपति एवम् पार्टी महासचिव सी चिनफिङ थप पाँच वर्षका लागि अर्थात् तेस्रो अवधिको लागि पुन: महासचिव चुनिएका छन् । अब उनी थप पाँच वर्षका लागि चिनियाँ सरकार र पार्टीका सर्वेसर्वा नेता हुने छन् । करिब पाँच वर्षअघि पार्टीको विधानमा संशोधन गरी पार्टी महासचिवको दस वर्षे अवधिमा परिवर्तन गरी उक्त
व्यवस्थालाई हटाएपछि सी चिनफिङ तेस्रोपटक पनि पार्टी महासचिव हुने छन् भनी अड्कल काटिएको थियो तर पुन: तेस्रोपटकको लागि उनी निर्वाचित हुनुको पछाडि उक्त संशोधन मात्र जिम्मेवार नभई त्यसका पछाडि अन्य कारण पनि रहेका छन् । सी चिनफिङको पुन: निर्वाचनलाई विभिन्न देशले आआफ्नै दृष्टिकोणबाट परिभाषित पनि गरेका छन् । प्रमुख साम्राज्यवादी शक्तिको रूपमा चिनिएको संयुक्त राज्य अमेरिकाले उनको विजयको कारणले गर्दा चीनमा राजनैतिक र आर्थिक सुधारका कार्यक्रमहरू थप बढी राज्य नियन्त्रित हुने छन् र पश्चिमी शैलीको प्रजातन्त्र झन् टाढाको विषय हुने छ भनी टिप्पणी गरेको पाइन्छ भने उसका सहयोगी खास गरी ‘नेटो’ सँग आबद्ध राष्ट्रहरूले पनि लगभग यस्तै प्रतिक्रिया दिएका छन् । अर्काेतिर, चीनसँग नजिक रहेका रुस र उत्तर कोरिया जस्ता देशले सी चिनफिङको विजयले गर्दा ती देशसँगको आपसी सम्बन्ध बलियो हुने छ र विश्वमा बहुध्रुवीकरणको राजनीतिलाई बढी प्रश्रय मिल्ने छ भन्ने आशा व्यक्त गरेका छन् ।
अब हेरौँ, किन सी चिनफिङ झन् बढी शक्तिशाली भए भन्ने सम्बन्धमा । सर्वप्रथम हामीले चीनले पूर्व सोभियत सङ्घको विघटनबाट कसरी पाठ सिक्यो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ ।
आज चीनमा सी चिनफिङले यो कुरा बुझेका छन् कि पूर्व सोभियत सङ्घमा स्टालिनलाई विस्थापित गरे जस्तै माओलाई विस्थापित गरियो भने पश्चिमी शक्तिको अतिक्रमणलाई रोक्न सकिने छैन ।
चीनमा माओपछि आर्थिक सुधार एवम् बजारमुखी अर्थ व्यवस्थाका प्रवर्तकको रूपमा चिनियाका नेता देङ सियाओ पिङले पूर्व सोभियत सङ्घमा गोर्भाचेभको उदय नहुँदै पनि सतर्कतापूर्वक आर्थिक सुधारका कार्यलाई अघि बढाएका थिए । उनले माओको पालाको राज्य नियन्त्रित समाजवादी व्यवस्थाको ठाउँमा बजारमुखी आर्थिक खुल्लापनलाई अघि बढाउँदा जसरी पूर्व सोभियत सङ्घमा खु्रस्चेभले पार्टी महासचिव भएपछि पूर्व महासचिव जोसेफ स्टालिनको कडा आलोचना गरी स्टालिनलाई विस्थापित गरे, त्यसरी नै देङ सियाओ पिङले चीनमा माओको सम्बन्धमा गरेनन् । माओको पालामा पटक पटक पार्टी कारबाहीमा परेका भए पनि उनले पूर्व सोभियत सङ्घमा स्टालिनलाई अपमानित गरे जस्तो माओलाई दुत्कार्ने काम गरेनन् र माओको पार्थिव शरीरलाई आधुनिक प्रविधिको माध्यमले तियानमेन चोकनजिकै संरक्षित गरी राख्ने काममा बाधा पुर्याएनन् र तियानमेन चोकमा रहेको माओको विशाल तस्बिरलाई पनि हटाउने काम गरेनन् । माओले सुरु गरेको सांस्कृतिक क्रान्तिका कट्टर विरोधी भए पनि माओअङ्कित चिनियाँ मुद्रालाई प्रचलनबाट हटाएनन् । पछि पूर्व सोभियत सङ्घमा गोर्भाचेभ सत्तामा आएपछि उनले सुरु गरेका आर्थिक सुधार र खुल्लापनको कार्यक्रमले गर्दा चीनमा पनि चिनिया कम्युनिस्ट पार्टीको विरोधमा आन्दोलन भए र बहुदलीय प्रजातन्त्रको पक्षमा आवाज उठे । यसै क्रममा सन् १९८९ मा तियानमेन चोकमा ठुल्ठुला आन्दोलन भए र सयौँ विद्यार्थी पनि त्यसमा सामेल भए ।
आन्दोलन चर्किएर उग्र रूप लिँदै गएपछि उक्त आन्दोलनलाई गलत दिशामा जानबाट रोक्न नसकेको भनी देङ सियाओ पिङले आफूले नै नियुक्त गरेका र आफ्ना उत्तराधिकारीसमेत मानिएका उदारवादी भनी चिनिएका चाउ चयाङलाई प्रधानमन्त्री पदबाट अपदस्थ गरी उनलाई नगरबन्दमा राखे र उक्त आन्दोलनलाई दबाउन सैनिक शक्तिको पनि प्रयोग गरे । देङ सियाओ पिङ माओको नीतिका जतिसुकै विरोधी भए पनि उनले यो कुरा बुझेका थिए कि यदि पश्चिमा शैलीको प्रजातन्त्रलाई चीनमा स्थापित गरेको खण्डमा अमेरिकाले नेतृत्व गरेको पश्चिमी साम्राज्यवादी मुलुकहरूले चीनको विभाजन गर्ने छन् र चीनलाई पुरानै अर्धउपनिवेशवादी मुलुकमा फर्काउने छन् । पछि गोर्भाचेभले अपनाएको नीतिको कारणले पूर्व सोभियत सङ्घको विघटन भएपछि चिनिया नेताहरू झन् बढी सतर्क हुँदै गए र पश्चिमी साम्राज्यवादी शक्तिलाई खुसी पार्नको लागि आर्थिक र राजनैतिक उदारवादको नाममा राज्य र पार्टीको नियन्त्रणलाई खुकुलो पार्न हुँदैन भन्ने कुरा बुझ्दै गए ।
सोभियत सङ्घका नेता गोर्भाचेभले पश्चिमी देशलाई खुसी पार्न ख्रुस्चेभको पालादेखि सुरु भएको आर्थिक र राजनैतिक खुकुलोपनालाई यसरी अगाडि बढाए कि त्यहाँ बचेखुचेको समाजवादी व्यवस्थाको आधार भताभुङ्ग भयो र विश्वमा पहिलोपटक प्रयोगमा आएको साम्यवादी प्रणाली तहसनहस भयो । सोभियत सङ्घको विघटनपछि रुस एवम् अन्य पूर्व सोभियत सङ्घका राज्यहरूमा देखिएको जनताको अवस्था र आक्रोश देखेका चिनिया नेताहरूले यदि शिक्षा नलिएको भए आज चीनको अवस्था पनि पूर्व सोभियत सङ्घको जस्तो हुन सक्थ्यो ।
रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सोभियत सङ्घको विघटनलाई बिसौं शताब्दीको विश्व राजनीतिमा एउटा ठुलो त्रासदी हो भनेका छन् । उनले केही समयअघि गोर्भाचेभको निधन हुँदा दु:ख त जनाए तर उनको अन्तिम संस्कारमा भाग लिएनन् र अप्रत्यक्ष रूपमा उनकै कारणले गर्दा सोभियत सङ्घ विघटनमा पुगेको आफ्नो भित्री आक्रोशलाई व्यक्त गरे ।
स्टालिनले मृत्युअघि नै यो कुरा बुझेका थिए र उनले पत्रकारसँगको एउटा अन्तर्वार्तामा भनेका पनि थिए कि उनका कुनै पनि अर्थात् मेलेन्कोभ, मोलोतोभ र बेरिया जस्ता अनुयायी र सहयोगीहरू उनका उत्तराधिकारी हुन योग्य थिएनन् किनकि उनको शब्दमा उनीहरू पश्चिमी साम्राज्यवादसँग डराउँदथे ।
देङ सियाओ पिङपछिका नेताहरू जियाङ जेमिन र हु चिनताओले पनि थप आर्थिक सुधार र खुल्लापनलाई समर्थन गरे पनि समग्र रूपमा राज्य नियन्त्रित अर्थव्यवस्था र पार्टीको नेतृत्वलाई पूर्व सोभियत सङ्घमा जस्तो कमजोर हुन दिएनन् । अहिले तेस्रोपटक निर्वाचित महासचिव सी चिनफिङका पिता पनि माओको पालामा सांस्कृतिक क्रान्तिको दौरानमा कारबाहीमा परेका थिए र त्यसको फलस्वरूप युवा सी चिनफिङलाई पनि बाल्यवस्थामा सहर छाडी गाउँ जानुपरेको थियो तर उनले आफू महासचिव भएपछि माओको अपमान गर्ने अथवा उनलाई धिक्कार्ने कार्य उनले गरेनन् र माओलाई होच्याएर गरिने क्रियाकलापमाथि अङ्कुश लगाए ।
माओपछि सत्तामा आएका चिनियाँ नेताहरूले माओले सुरु गरेको सांस्कृतिक क्रान्तिलाई उनीहरूको शब्दमा एउटा गल्ती र विचलनको रूपमा त लिए तर माओले अर्धउपनिवेशवादी एवम् आन्तरिक रूपमा विभाजित चीनलाई सङ्गठित गरी अर्धउपनिवेशवादबाट मुक्त गराई एउटा आधुनिक एवम् समाजवादी बाटो समातेको सशक्त राष्ट्र बनाई चिनियाँ जनताको स्वाभिमानलाई जगाएर चीनलाई विश्वसामु चिनाएको कुरामा कुनै विवाद देखाएनन् ।
उता, पूर्वी सोभियत सङ्घमा भने सोभियत कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनपछि पार्टीको प्रमुख बनेका ख्रुस्चेभ र उनका अनुयायीले आफ्ना पूर्वनेता स्टालिनले लेनिनको मृत्युपछि सोभियत सङ्घलाई सङ्गठित बनाउन र आधुनिक कृषि र उद्योगको जबर्जस्त विकास गर्नमा पुर्याएको देन र द्वितीय विश्वयुद्धमा हिटलरको फासिवादी सेनालाई हराउनमा उनको नेतृत्वको योगदानलाई चटक्कै बिर्से र स्टालिनले समाजवादलाई व्यवहारमा लागु गर्दा भएका गल्तीलाई मात्र देखाई उनलाई हत्याराको रूपमा प्रस्तुत गरी पश्चिमी साम्राज्यवादी शक्तिलाई खुसी पार्ने काम गरे ।
स्टालिनले मृत्युअघि नै यो कुरा बुझेका थिए र उनले पत्रकारसँगको एउटा अन्तर्वार्तामा भनेका पनि थिए कि उनका कुनै पनि अर्थात् मेलेन्कोभ, मोलोतोभ र बेरिया जस्ता अनुयायी र सहयोगीहरू उनका उत्तराधिकारी हुन योग्य थिएनन् किनकि उनको शब्दमा उनीहरू पश्चिमी साम्राज्यवादसँग डराउँदथे । नभन्दै स्टालिनको मृत्युपछिका केही वर्षमा नै पश्चिमी साम्राज्यवादको डरको प्रतीक स्टालिनको नाम निसाना मेटाउने काम भयो ।
आज चीनमा सी चिनफिङले यो कुरा बुझेका छन् कि पूर्व सोभियत सङ्घमा स्टालिनलाई विस्थापित गरे जस्तै माओलाई विस्थापित गरियो भने पश्चिमी शक्तिको अतिक्रमणलाई रोक्न सकिने छैन । माओले जीवनभर पार्टीप्रमुखमा रही काम गरेका कारणले पनि उनीपछिका नेताहरूले त्यो व्यवस्था हटाउनका लागि पार्टीका महासचिवको अवधि केवल दुई कार्यकालको राखेका थिए । अहिले त्यो प्रावधानलाई हटाएर सी चिनफिङले आफ्ना विरोधीलाई यो सङ्केत दिएका छन् कि देश र देशबाहिरको परिस्थिति हेरी माओले लिएको जीवनपर्यन्तको नेतृत्व आवश्यक थियो ।
यो कुरा सत्य हो कि आज चीनमा माओको नेतृत्वमा सुरु भएको समाजवादी व्यवस्था छैन र पश्चिमी देशमा जस्तै चीनबाट पनि पुँजीको निर्यात भइरहेको छ तर आजको चीनले एकल ध्रुवीय विश्वव्यवस्थालाई चुनौती दिएको छ र आधुनिक प्रविधि, सैन्यशक्ति र आर्थिक प्रगतिमा पश्चिमी राष्ट्रलाई पछ्याउने काम गरिरहेको छ ।
सी चिनफिङले आफूभन्दा अगाडिका पार्टी महासचिवले भन्दा भ्रष्टाचारको विरुद्धमा कडा कदम चालेका छन् र यस क्रममा पार्टीका शीर्षस्थ नेता, सेना र पुलिसमा कार्यरत एवम् सेवा निवृत्त अधिकारीलाई समेत कारबाही गरी राज्य र पार्टीलाई भ्रष्टाचारमुक्त बनाउने एउटा अभियान पनि चालेका छन् । यसले गर्दा पनि उनको पक्षमा समर्थन बढ्दै गएको देखिन्छ । उनले आर्थिक सुधारका कदमलाई सतर्कता साथ लिएको र पार्टी र राज्यको नियन्त्रणबाट बाहिर केही हुन नपाओस् भन्ने सम्बन्धमा चनाखो भई काम गरेको पनि मानिन्छ ।
सी चिनफिङले चिनियाँ पुनर्ताजगीकरणको अभियानलाई अघि बढाएर चीनले यसअघि अर्थात् चीनमा समाजवादी क्रान्तिअघि लगभग सय वर्ष चिनिया जनताले भोगेको अर्धऔपनिवेशिक दासताले उत्पन्न गराएको अपमानलाई सधैँका लागि समाप्त पारी विश्वसामु चीनलाई एउटा सशक्त र लगभग विकसित देशको रूपमा चिनाउन चाहेको देखिन्छ । पार्टी महासचिवको रूपमा तेस्रोपटकको लागि निर्वाचित भएपछि उनले दिएका वक्तव्यबाट पनि उनी पूर्व सोभियत सङ्घको बाटोमा जाँदैनन् भन्ने कुरा देखाउँछ ।
यो कुरा सत्य हो कि आज चीनमा माओको नेतृत्वमा सुरु भएको समाजवादी व्यवस्था छैन र पश्चिमी देशमा जस्तै चीनबाट पनि पुँजीको निर्यात भइरहेको छ तर आजको चीनले एकल ध्रुवीय विश्वव्यवस्थालाई चुनौती दिएको छ र आधुनिक प्रविधि, सैन्यशक्ति र आर्थिक प्रगतिमा पश्चिमी राष्ट्रलाई पछ्याउने काम गरिरहेको छ । त्यसैले आज संयुक्त राज्य अमेरिकाले चीनलाई मुख्य प्रतिस्पर्धी देशको रूपमा लिन्छ र चीनको बढ्दो शक्तिलाई रोक्नका लागि विभिन्न सैन्य गठबन्धनको माध्यमबाट आफ्ना सहयोगी राष्ट्रलाई गोलबन्द गरी आफ्नो एकाधिकारलाई बचाउने प्रयत्न गरिरहेको छ ।
हामीले चीनबाट सिक्ने कुरा धेरै छन् । चीनले छोटो समयमा आर्थिक प्रगति गरेर देशबाट गरिबी हटाउनमा खेलेको भूमिका प्रमुख रूपमा आउँछ । माओको पालाको समाजवादी व्यवस्था नहुँदा चीनमा धनी र गरिबका बिचमा अझै अन्तर छ तर आज चीनमा चरम गरिबी छैन र चिनियाँ जनताको जीवतस्तर धेरै माथि उठेको छ । राज्यको नेतृत्व इमान्दार र राष्ट्रवादी भएको खण्डमा अन्य देशले पनि भ्रष्टाचारलाई धेरै सीमासम्म अन्त्य गर्न सक्छन् र विदेशी थिचोमिचोको विरुद्धमा पनि सशक्त भई उभिन सक्छन् भने उदाहरण चीनबाट लिन सकिन्छ ।
चीनको बढ्दो सामरिक शक्ति र आर्थिक प्रगतिले विश्व राजनीतिमा सन्तुलनको काम गरेर राष्ट्र राष्ट्रको बिचमा आपसी हितका लागि सम्मानजनक सहयोगका कदम अघि बढाएको खण्डमा विश्वलाई अर्काे महायुद्धबाट बचाउन सहयोग पुग्ने आशा गर्न सकिन्छ ।
पश्चिमी शक्तिहरूको विश्व अर्थव्यवस्थामाथिको एकाधिकारलाई चीनले धेरै फितलो बनाइदिएको छ । चीनले आउँदा दिनमा आफ्ना छिमेकी एवम् विकासोन्मुख देशसित आपसी सम्मान र सहयोगको भाइचारा नीतिलाई अघि बढाई ठुलासाना सबै राष्ट्रको जित हुने गरी आफ्नो नीतिलाई अघि बढाएमा चीनको प्रगतिले अन्य देशलाई पनि फाइदा र प्रोत्साहन दिन सक्छ । अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीति, व्यवहारमा पनि देखिँदै जानुपर्छ र अन्य देशले पनि चीनको आन्तरिक मामिलामा असर पुग्ने कार्य गर्नुहुँदैन ।
निकटतम छिमेकी मुलुक भएको कारणले गर्दा नेपाली जनता चीनको प्रगतिबाट खुसी छन् । चीनको बढ्दो सामरिक शक्ति र आर्थिक प्रगतिले विश्व राजनीतिमा सन्तुलनको काम गरेर राष्ट्र राष्ट्रको बिचमा आपसी हितका लागि सम्मानजनक सहयोगका कदम अघि बढाएको खण्डमा विश्वलाई अर्काे महायुद्धबाट बचाउन सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

