काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गरेका छन्।
गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई चार हजार ६१४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
राणाले २३ हजार ८९२ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत प्राप्त गरेका छन् । यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए ।
२०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार सात सय २९ मत प्राप्त गरेका थिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले तीन हजार २७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले एक हजार ६४१ मत प्राप्त गरे ।
कुल ७४ हजार ३९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७७३ मत खसेको थियो । खसेको मतमध्ये एक हजार ८०२ मत बदर भएको छ भने ४८ हजार ७८१ मत सदर भएको छ ।