स्याङजा । स्याङजा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा बुथ क्याप्चर भएको भन्दै १४ जना उम्मेदवारले पुनः मतदान गर्न माग गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाका १४ उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिँदै पुनः मतदान गर्न माग गरेका हुन् ।
चापाकोट नगरपालिका वडा नं ३ को दिसिङकोट आधारभूत विद्यालय कमेरे, वडा नं ४ को राम मन्दिर मावि दार्सिङ, वडा नं ५ को जनसक्रिय मावि चिठ्ठी पोखरी र वडा नं ४ कै दिन दयालु आधारभूत विद्यालय साठीमुरे केन्द्रमा कर्मचारीलाई नियन्त्रणमा लिइ अनधिकृत मतदान गरिएको उनीहरुको आरोप छ ।
बुथ कब्जा गरिएको खबर पाएपछि आफूहरु बुझ्न जाँदा उम्मेदवारहरुलाई समेत भित्र जान नदिई जबर्जस्ती भोट हालिएको उनीहरुले बताएका छन् ।
नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् पूर्वमन्त्री पद्माकुमारी अर्यालसहित ६ जना प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार, चार जना समानुपातिक उम्मेदवार र चार जना प्रदेश उम्मेदवार तथा तिनका प्रतिनिधिद्वारा निर्वाचन आयोगलाई बुझाइएको पत्रमा सो मतदान रद्द गरी पुनः मतदान गर्न माग गरिएको छ ।
सो क्षेत्रमा नेपाली कांग्रेसका धनराज गुरुङ प्रतिनिधि सभाको उम्मेदवार छन् ।