बागलुङ । बागलुङमा ५५ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
बागलुङमा १ लाख ९२ हजार २ सय २७ मतदातामध्ये आइतबार ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी ३१ जना उमेदवारले प्रतिस्पर्धा गरेका छन् ।
आइतबार बेलुकी अबेरसम्ममा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने र सोमबार बिहानबाट मतगणना सुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणनाका लागि फलामको तारजालीसहितका स्थल निर्माण गरेको छ । ती मतगणनास्थलमा सीसी क्यामेरा पनि जडान भएका छन् ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभा तथा समानुपातिकका मतपेटिका पनि अलग अलग स्थानमा भण्डारणको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ का लागि जिल्ला समन्वय समितिको सभाहलमा दुई स्थानमा तारजाली लगाएर गणनास्थल निर्माण भएको छ । सोही भवनको एक तलामा राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीका लागि डेस्क समेत निर्माण गरिएको छ ।
यस्तै, क्षेत्र नम्बर २ का लागि बुर्तिवाङ बजार नजिकैको साना सहरी विकास आयोजनाको सभाहललाई व्यवस्थापन गरिएको छ ।
बागलुङ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्ला भएका कारण पनि चासोका साथ हेरिएको छ । केसी प्रतिनिधि सभा क्षेत्र नं १ को उम्मेदवार हुनुहुन्छ ।