काठमाडौँ । गत एक वर्षमा नौ लाख ३३ हजार २९३ जनाले पासपोर्ट (राहदानी) बनाएका छन् । राहदानी विभागले २०७९ मङ्सिर २ गते जारी गरेको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।
गत २०७८ मङ्सिर १ गतेदेखि २०७९ कात्तिक ३० गतेसम्म राजधानीस्थित राहदानी विभागबाट तीन लाख ३४ हजार ५८३, जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट पाँच लाख १६ हजार ८०५ र विदेशस्थित कूटनीतिक नियोगबाट ८१ हजार ९०५ जना गरी उपर्युक्त सङ्ख्यामा पासपोर्ट बनाइएको विज्ञप्तिमा उल्लेख छ ।
विभागले २०७८ असोजमा बिद्युतीय राहदानीको परीक्षण उत्पादन गरी सोही वर्ष मङ्सिर १ बाट औपचारिक उत्पादन सुरु गरेको बताएको छ ।
त्यसैगरी, विभागले सेवाप्रवाहमा सहजता ल्याउन नेपाल पासपोर्ट एप्स निर्माण गरिएको तथा अनलाइन प्रणालीलाई थप सुदृढ गराउने प्रयास भइरहेको पनि बताएको छ ।
त्यस्तै, भागिले राहदानी छिटो बनाइदिने, एपोइन्टमेन्ट मिति अगाडि सारिदिने जस्ता विभिन्न बहानामा ठगी गर्ने बिचौलिया पहिचान गरी विभाग वा सम्बन्धित प्रहरी कार्यालयमा सूचना दिन पनि आग्रह गरेको छ ।
