काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङ निर्माण गर्ने भएको छ ।
मेयर बालेन्द्र साहका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले सो जानकारी दिनुभएको हो ।
झाडी र फोहोरले अस्तव्यस्त बनेको खुलामञ्च सम्याएर महानगरले अहिले सफा गरेको छ । बेसमेन्ट निर्माण गरेर पार्किङ गराउने आन्तरिक तयारीका साथ खुलामञ्चमा सफा गरिएको महानगरले जानकारी दिएको छ ।
‘अहिले फोहोर र झाडीका कारण अस्तव्यस्त देखिएकाले सम्याइएको मात्रै हो तर हाम्रो तयारी यहाँ भूमिगत पार्किङ नै हो’ लम्साल भन्छन्– ‘महानगरमा भइरहेको पार्किङ समस्या समाधान गर्न यसले भूमिका खेल्छ ।
बजेटमै उल्लेख भएको बुँदाअनुसार महानगरले खुलामञ्चमा तीन तल्लाको अन्डरग्राउन्ड पार्किङ गराउने गरी सार्वजनिक–निजी–सहकारी (पी.पी.पी.) अवधारणामा संरचना निर्माण हुने लम्सालले बताए ।
पी.पी.पी. मोडलमा ठेक्का खोल्न महानगरले केही नीतिगत व्यवस्थासमेत सच्याउने भएको उनले जानकारी दिए ।
उनले पाँच हजार सवारी साधन अट्ने गरी बेसमेन्ट पार्किङका लागि अध्ययन गरिरहेका बताउँदै बजेटमै आइसकेकाले महानगरले आन्तरिक तयारी गरिरहेको बताए ।
‘खुलामञ्चको चौर नबिग्रने गरी संरचना तयार हुन्छ’ लम्सालले भने– ‘चौरमा पानी रिचार्ज पोखरी निर्माण हुन्छ । खुलामञ्चमा आकाशबाट बगेको पानी बग्न नदिने योजनासहित हामीले काम सुरु गर्छौं ।’
महानगरको मातहत पर्ने खुलामञ्चमा २०७८ वैशाख १५ गतेदेखि सवारी प्रवेशमा रोक लगाइएको थियो । त्यसयता बन्द रहेको खुलामञ्चमा दसैँतिहार अवधिभर चारपाङ्ग्र्रे सवारी पार्किङ गर्न दिइएको थियो । हाल खुलामञ्च बन्द अवस्थामै छ ।