अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् अर्घाखाँची क का लुम्बिनी प्रदेश सभा सदस्य उम्मेदवार सागर केसीले नेकपा (एमाले) लाई भोट माग्ने नैतिक अधिकार नरहेको बताउनुभएको छ ।
चुनाव प्रचारको शिलशिलामा जिल्लाको छत्रदेव गाउँपालिकाका विभिन्न वडामा आयोजित कार्यक्रमका क्रममा नेता केसीले दुई तिहाइ जनमत दिँदा पनि सरकार चलाउन नसकेर पटक–पटक संसद् भत्काउनेलाई भोट दिन नहुने बताउनुभयो ।
अहिले एमालेबाट अर्घाखाँचीमा उम्मेदवार बनेकाहरूलाई आफूहरुले समेत भोट हालेको स्मरण गर्दै नेता केसीले उनीहरुले समेत मतको दुरुपयोग गरेको आरोप लगाउनुभयो । आगामी निर्वाचनमा प्रतिगमन र अग्रगमनकाबीच प्रतिस्पर्धा हुने उहाँले स्पष्ट पार्नुभयो ।
आफ्नो राजनीतिक जीवन जनता र देशको हितमा समर्पित गरेको भन्दै केसीले यो चुनावमा जनताले आफू र गठबन्धनलाई भोट दिन आतुर रहेको जिकिर समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि पिताम्बर खनाल, माओवादी केन्द्रका प्रदेश सदस्य जंग बहादुर परियार, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द कुँवर, सदस्य टेकराज भुसाल, राजमो छत्रदेव अध्यक्ष खिमनारायण पाण्डे लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
गठबन्धनले अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा घरदैलो कार्यक्रम गरिरहेको छ ।