काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सभामुख चयनमा सहमती नजुटेपछि आइतबार १ बजेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। अर्को बैठक माघ ६ गते दिउँसो १ बजे बोलाइएको छ।
सत्तारुढ नेकपामा सभामुख चयनको विवाद सल्टिन नसकेपछि प्रतिनिधिसभा बैठक प्रभावित भएको हो । नेकपा नेतृत्वले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको थियो । तर, उनले राजीनामा नदिने अडान लिएकी छन् ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले सभामुख चयन गर्दा सरकारलाई सहज हुनेगरी आफैले प्रस्ताव गर्न पाउनुपर्ने बताउँदै आएका छन् भने अर्का अध्यक्ष प्रचण्डले पहिले एमाले र माओवादीबीच भागबण्डा गर्दा सभामुख तत्कालिन माओवादीको भागमा परेकाले आफैले प्रस्ताव गर्न पाउनुपर्ने बताउने गरेका छन् ।
तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयास गरेको आरोपमा जेल परेपछि तीन महिना भन्दा लामो समयदेखि सभामुख पद रिक्त छ । सभामुख नहुँदा संसदको बैठक सूचना टाँस गर्दै स्थगित हुँदै आएको छ ।
