दाङ । राष्ट्रिय जनमोर्चाको समानुपातिक उम्मेदवार जिताउन परिचालित अभियानले दाङको गढवामा सभा सम्पन्न गरेको छ ।
केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यमा २०७९ कात्तिक २३ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष नेपालीले राष्ट्रिय जनमोर्चा मात्रै नेपाली जनताको पक्षमा सम्झौताहीन ढङ्गले सङ्घर्ष भएको दाबी गर्नुभयो ।
उहाँले तात्कालिक राजनीतिमा राष्ट्रिय जनमोर्चालेले मात्रै सन्तुलित र सही राजनीति अपनाएको बताउनुभयो ।
‘हामीले प्रतिगमनको विरुद्धमा गठन भएको सरकारलाई समर्थन गरेका छौँ’ उहाँले भन्नुभयो– ‘तर त्यो सरकारका गलत कामको हामीले विरोध पनि गरेका छौँ ।’
उहाँले अगाडि भन्नुभयो– ‘जब सरकारले एम.सि.सी. सदनमा ल्यायो, हामीले विरोध गर्यौं । महङ्गी, भ्रष्टाचार, कृषिमल र पाठ्यपुस्तकको अभाव, सङ्घीयताको विरोध जस्ता विषयमा हामीले लगातार सङ्घर्ष गरेका सबैलाई थाह छ ।’
उहाँले तात्कालिक राजनीतिमा राजमोले एकतासँगै विरोध र विरोधसँगै एकताको द्वन्द्वात्मक अभ्यास गरेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा र केन्द्रीय सदस्य तारा थापाले पनि सम्बोधन गर्नुभएको थियो ।
रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका समानुपातिक उम्मेदवार राजीदेवी चौधरी, शान्तिदेवी चौधरी र मोतीकुमारी कुमालको पनि आतिथ्य रहेको थियो ।
टोलीले सुर्खेतबाट कात्तिक २२ गते साँझ तुलसीपुरमा आएपछि कार्यकर्ता स्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । त्यसपछि कात्तिक २३ गते बिहान घोराहीमा पत्रकार सम्मेलन गरिएको थियो ।
गढवाको कार्यक्रमपछि टोलीले कपिलवस्तुमा कार्यक्रम सम्पन्न गरेको थियो । कात्तिक २३ गते नै उक्त टोली पाल्पाको तानसेन पुगेर बास बसेको छ ।
टोलीमा सहभागी रक्तिममा महासचिव जीवन शाहीका अनुसार भोलि बिहान तानसेनमा कोणसभा सम्पन्न गरिने छ । त्यसपछि टोली गुल्मीको तमघासमा कार्यक्रम गरी कालिगण्डकीको पुर्तिघाटमा पुगी बास बस्ने छ ।