डोटी । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अहिले देशमा प्रतिगमन गर्न विदेशी शक्तिको पनि साथ रहेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा डोटीले सञ्चालन गरिरहेको चुनावी अभियान अन्तर्गत बुधबार केआईसिंह गाउपालिका वडा नं ३ वासुदेवीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै भट्टले यस्तो बताउनुभएको हो ।
‘यो भन्दा अघि नेपालमा राजाले मात्रै प्रतिगमन गर्थे । त्यसविरुद्ध लड्न पनि सजिलो थियो’ भट्टले भन्नुभयो, ‘अहिले विगतमा लोकतन्त्रको लागि लडेको एमाले नै प्रतिगमनतर्फ गइरहेको छ । उसलाई राजावादीले मात्रै नभएर विदेशी शक्तिले समेत साथ दिएका छन् ।’
गठबन्धनले नजिते फेरि प्रतिगामी शक्ति हावी हुने चेतावनी पनि दिनुभयो । प्रतिगमनले जिते फेरि लोकतन्त्रको लागि अर्को लामो समय देशी विदेशी प्रतिगामी शक्तिहरुसँग जुध्नुपर्ने अवस्था आउने भट्टले बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा गठबन्धनसँग मिलेर चुनावमा भाग लिनुको कारण प्रतिगामी शक्तिलाई परास्त गर्नको लागि भएको पनि उहाँले दोहोर्याउनुभयो।
महासचिव भट्टले गठबन्धन दललाई कम भागभन्डा पाएकोमा गुनासो नगरी एकतावद्ध भएर प्रतिगमनलाई हराउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा राजमो जिल्ला अध्यक्ष डबल बोगटी र प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार उज्जरसिंह मगरले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमो डोटीका जिल्ला सचिव मानबहादुर खड्काले गर्नु भएको थियो।
यस्तै, राजमोको कार्यक्रमलाई एकीकृत समाजवादीका तारासिंह ऐर, माओवादी केन्द्रका सूर्य भुलले पनि ऐक्यवद्धता प्रकट गर्नु भएको थियो ।
