काठमाडौं । गएराति डोटी केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावित व्यक्तिलाई नेपाली सेनाले उद्धार गरेको छ ।

डोटीको खप्तड ईलाका केन्द्रबिन्दु बनाई गएको ६.६ रेक्टर स्केलको भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं.३ स्थित गैरागाउँमा जनधनको क्षति भएको छ ।
उक्त स्थानमा नेपाली सेनाको खोज तथा उद्धार टोली तत्काल परिचालित भई जिल्लास्थित अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरुको सहयोगमा भूकम्पमा परी मृत्यु भएका ६ जनाको शव निकाल्नुका साथै भूकम्पमा परी घाइते भएका ७ जनालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल डोटी लगिएको थियो।

घाइतेहरु मध्ये गम्भीर अवस्थाका २ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको सेनाले जनाएको छ ।

नेपाली सेनाको उद्धार टोलीद्वारा जिल्ला रेडक्रस सोसाइटी, डोटीसँग आवश्यक समन्वय गरी भूकम्प पीडितहरुका लागि आवश्यक खाद्यान्न, त्रिपाल, कम्बल, लत्ता कपडा, भाँडावर्तन लगायतका राहत सामग्रीहरु समेत वितरण गरिएको जंगी अड्डाले जनाएको छ ।



