काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गठबन्धनका उम्मेदवारको पराजय हुनु भनेको प्रतिगमन पक्षधरको जित हुनु हो भन्नुभएको छ ।
मंगलबार साँझ फेसबुकमा स्ट्याटस लेख्दै महामन्त्री सिंहले चुनावमा प्रतिगमनको जित भयो भने नेपाली जनताले करिब सय वर्ष संघर्ष गरेर प्राप्त भएका ऐतिहासिक उपलब्धीहरु बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षता समेत समाप्त हुने बताउनुभएको छ ।
‘गठबन्धनका कुनै उम्मेद्वारको पराजय हुनुको अर्थ प्रतिगमनको नै जीत हुन्छ । अहिले प्रतिगमनको मुख्य नेतृत्व ओली वा उनको नेतृत्वको एमालेले नै गरिरहेको छ’ सिंहले लेख्नुभएको छ, ‘त्यसकारण प्रतिगमन वा एमालेलाई पराजित गर्नु आगामी चुनावको मुख्य उद्देश्य भएको छ र हुनु पनि पर्दछ । चुनावमा प्रतिगमनको जित भयो भने नेपाली जनताले करिब सय बर्ष संघर्ष गरेर प्राप्त भएका ऐतिहासिक उपलब्धीहरु बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षता समेत समाप्त हुनेछ ।’
उहाँले प्रतिगमनलाई जित्न नदिन पुरा शक्ति लगाउनुपर्नेमा पनि जोड दिनुभएको छ । गठबन्धन दलहरुसँग कैयौँ कुरामा मतभेदका बाबजुद बहुदलीय व्यवस्था, गणतन्त्र वा धर्मनिरपेक्षता जोगाउन गठबन्धनका उम्मेदवारालाई जिताउन सिंहले आग्रह गर्नुभएको छ ।