वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चाको समानुपातिक उम्मेदवार प्रचार प्रसार टोलीले सुर्खेतको मेहलकुना र बोटेचौरमा कोणसभा सम्पन्न गरेको छ ।
केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपाली नेतृत्वको टोलीले २०७९ कात्तिक २२ गते मङ्गलबार गुर्भाकोट–८ मेहलकुना र सोही गाउँपालिका वडा नं. ९ को बोटेचौरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
दुवै कार्यक्रममा जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशमा राजमोका समानुपातिक उम्मेदवार शेरबहादुर परियारले सम्बोधन गर्नुभएको थियो ।
मन्तव्यको क्रममा उहाँले राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू धेरै सङ्ख्यामा विजयी भएमा मात्र गणतन्त्र र धर्म निरपेक्षताको रक्षा हुने दाबी गर्नुभयो ।
सङ्घीयताबाट राष्ट्रियतामाथि खतरा तर्क राख्दै उहाँले राजमोका जनप्रतिनिधिले संसद्मा पनि सङ्घीयता विरोधी आवाज उठाइरहेको स्मरण गराउनुभयो ।
तात्कालिक राजनीतिक अवस्थामा प्रतिगमन विरोधी सङ्घर्ष मुख्य मुद्दा भएको उहाँको भनाइ थियो । प्रतिगामी शक्तिलाई पराजित गरी जनआन्दोलनका उपलब्धिको रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उहाँले प्रत्यक्षतर्फ गठबन्धनलाई र समानुपातिकतर्फ राजमोलाई मत दिन आग्रह गर्नुभयो ।

कार्यक्रमको सञ्चालन रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीले गर्नुभएको थियो ।
महासचिव शाहीका अनुसार समानुपातिक टोली कात्तिक २२ गते साँझ दाङको तुलसीपुरमा बास बस्ने छ । त्यसअघि सम्भव भएका स्थानमा कोणसभा, भेटघाट गर्ने छ ।