नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो चवालिसौँ स्थापना दिवसको अवसरमा सम्पूर्ण प्रवासी नेपालीप्रति अभिनन्दन प्रकट गरेको छ ।
समाजका अध्यक्ष ठाकुर खनालले केन्द्रीय समितिको तर्फदेखि प्रेसवक्तव्य जारी गरी सङ्गठन निर्माणको दौरानमा ज्यान गुमाएका नेता–कार्यकर्तालाई सम्मान प्रकट गर्नुका साथै सङ्गठनमा सक्रिय रूपमा कार्यरत रही योगदान दिने सबै सदस्यलाई अभिनन्दन गर्नुभएको हो ।
समय समयमा विभिन्न फुटपरस्त एवम् महत्त्वाकाङ्क्षी तत्त्वहरूले आफूअनुकूल बनाउन खोज्दा फुट परेता पनि सङ्गठनका सम्पूर्ण स्तरका कार्यकर्ताले सङ्गठनलाई बचाउन सफल भएको वक्तव्यमा उल्लेख छ । त्यस्तै, भारत प्रवासमा रहेका नेपाली श्रमजीवीको पक्षमा आफ्नो स्थापनाकालदेखि नै निरन्तर कार्यरत रहेको खनालले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“आज मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले त्रिचालिसौँ सङ्घर्षशील वर्ष पार गर्दै चवालिसौँ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कैयौँ नेता–कार्यकर्ताको समाजप्रतिको समर्पणको भावना र समाज परिवर्तनका लागि अथक प्रयासबाट सङ्गठनले सामाजिक राजनैतिक क्षेत्रमा इतिहास कायम गर्न सफल भएको छ । सङ्गठन निर्माणको दौरानमा सङ्गठनले कैयौँ नेता–कार्यकर्ताहरू गुमाएको छ । यो चवालिसौँ स्थापना दिवसको गौरवपूर्ण अवसरमा उहाँहरूप्रति सम्मान प्रकट गर्दै सक्रिय रूपमा सङ्गठनलाई अगाडि बढाउन योगदान दिने सबै सदस्यलाई अभिनन्दन गर्न चाहन्छौँ ।
नेपालको आर्थिक, सामाजिक र राजनैतिक अवस्थाले उत्पन्न बेरोजगरीले गर्दा बिदेसिन बाध्य भई भारतका विभिन्न सहरमा कडा परिश्रम गरेर जीविकोपार्जन गर्ने नेपाली श्रमिकको हकहितका लागि अखिल भारतस्तरकै एउटा सङ्गठनको आवश्यकता थियो । त्यसका लागि विभिन्न सहरबाट प्रतिनिधित्व हुने गरी ७ नोभेम्बर १९७९ मा बनारसमा सम्पन्न भेलाले त्यो आवश्यकतालाई पूर्णता प्रदान गर्दै तत्कालीन अखिल भारत नेपाली एकता समाजको स्थापना गरेको थियो । त्यही सङ्गठन कालान्तरमा गएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको रूपमा जनतामाझमा स्थापित हुन पुग्यो ।
एकता समाजको स्थापनाकालमा नेपालमा निरङ्कुश तानाशाही पञ्चायती व्यवस्था थियो । राजनैतिक पार्टीमाथि भएको प्रतिबन्धले जनताको अभिव्यक्तिको स्वतन्त्रता र सामान्य मानव अधिकारबाट वञ्चित थिए । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना सामाजिक सङ्गठनको रूपमा भएता पनि यो राजनैतिक उद्देश्यद्वारा नै प्रेरित पनि थियो । त्यसैले नेपालमा हुने राजनैतिक विचारको चलखेल र प्रभाव रहनु स्वाभाविक नै हो । त्यस समयमा नेपालका अन्य राजनैतिक दलहरू प्रवासमा नेपालीलाई सङ्गठित गर्ने सवालमा उदासिन थिए तर नेपाली एकता समाजले लिए गति र नेपालीबिचको आकर्षणले गर्दा प्रवासी नेपालीलाई उपेक्षा गर्ने नीति प्रत्युत्पादक हुने देखिएपछि भारतमा दुई खाले नेपालीको तर्क दिई छुट्टै सङ्गठन अखिल भारत नेपाली प्रवासी सङ्घ निर्माण गरे । एकता समाजमा भएको फुट र २०४६ सालमा निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको अन्तपछि अन्य दलका भ्रातृ सङ्गठनहरू गठन–पुनर्गठन समायोजनपछि अखिल भारतस्तरका अन्य सङ्गठन अस्तित्वमा आएता पनि अखिल भारतस्तरको पहिलो सङ्गठन रहेको गौरव मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई मात्र छ ।
नेपालको राजनैतिक, सैद्धान्तिक साङ्गठनिक मतभेदको प्रभावबाट एकता समाज पनि अछुतो रहन सकेन । एकता समाजको दोस्रो सम्मेलनको पूर्वार्ध १९८६ मा तत्कालन महासचिव विजय शर्मा (सिपी गजुरेल) ले सङ्गठनलाई प्रथमपटक टुक्राए । सङ्गठनको नाम “अखिल भारत नेपाली एकता समाज” कलकत्ता पक्ष (मौखिक मात्र) राखे । समान नाम भएको हुँदा दर्ता भने भएको थिएन । १९९० तत्कालीन महासचिव रामचन्द्र शर्माले सङ्गठनमा पुनःविभाजन गराए । केही समयसम्म नाम समान राखेता पनि पछि कलकत्ता पक्ष विलय गराए । एउटै प्रकारका नामको कारणले जनता एवम् प्रशासनमा कैयौँ भ्रम परिरहेको हुँदा २००२ मा हैदरावादमा सम्पन्न पाँचौँ अखिल भारत सम्मेलनको निणर्यानुसार सङ्गठनको नाम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बन्यो । २००७ मा आनन्द थापाहरूले सङ्गठनलाई विभाजन गरी मूल प्रवाहकै नाममा केही समय भ्रम दिने काम गरे । २०१० मा पूर्व अध्यक्ष गिरधारीलाल र डिलारामहरूले मूल प्रवाहकै नाममा भ्रम छर्ने कोसिस गरे । हालै सङ्गठनले अनुशासनको कारबाही गरेका केही व्यक्तिहरूले पनि आफू मूल प्रवाह नै भएको दाबी गर्दै भ्रम सिर्जना गर्ने असफल प्रयास गरे । समय समयमा सङ्गठनको नाम र पहिचानलाई दुरुप्रयोग गरी भ्रम पारी जनतालाई गुमराह गराउने प्रयत्नलाई सचेत जनताले परास्त गरेका छन् । यसले प्रष्ट भएको छ, भ्रमको खेती कहिल्यै सफल हुँदैन, अन्तमा सत्यको जित भएर नै छाड्छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापनाकालदेखि अहिलेसम्मको त्रिचालिसौँ वर्षको गौरवमय अवधिमा प्रवासी नेपालीका हकहित, सामाजिक सुरक्षा, नेपालीमाथि आइपर्ने विभिन्न प्रकारका समस्या समाधानका लागि गरेको सङ्घर्षको लामो सूची छ । नेपालीले भोग्दै आएको पहिचान पत्रको अभावमा हुने समस्या, डोमिसाइल इलिजिबिलिटी प्रमाणपत्रको समस्या, सिमाना हुने लुटपाट, दुःख गरी कमाएको धन बैङकिङ प्रणालीमार्फत पठाउने व्यवस्थाको माग, प्राइभेट सेक्टरबाट सेवानिवृत्त भएपछि नेपालमै पेन्सन पाउने व्यवस्थाको माग, भारतमा हुने दुर्घटनामा नेपाल सरकारबाट बिमा सुविधाको माग, भारतमा नेपालीहरूमाथि हुने दुर्वव्यहार विरुद्ध सङ्घर्ष, दुर्घटनामा क्षतिपूर्ति, विभिन्न प्रकोपमा परेकालाई उद्धार तथा सहयोगलगायत अनेकन् कार्यबाट नेपालीलाई सहयोग पुर्याउनुका साथै नेपाली तथा भारतीय जनताबिचको मित्रतालाई अगाडि बढाउने काम गर्दै आइरहेको सर्वविदितै छ ।
त्यसका साथै मूल प्रवाहले नेपाली राजनीतिमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । नेपालमा राजनैतिक गतिविधिमाथि प्रतिबन्ध भएको अवस्थामा राजनैतिक दलहरूलाई प्लेटफार्म उपलब्ध गराउनुका साथै समय समयमा सम्पन्न गरिएका विचारगोष्ठी तथा सैद्धान्तिक कार्यक्रमले राजनैतिक दिशा तय गर्न सहयोग पुर्याउँदै आएको छ । १२ मे १९८६ मा नेपालको पञ्चायती व्यवस्था विरुद्धको दिल्लीको प्रदर्शन, २०४६ सालको जनआन्दोलन, २०६२–६३ सालको महान् जनआन्दोलनमा राजधानी दिल्लीलगायत भारतका अनेकौँ सहरमा जुलुस प्रदर्शन तथा सभा, २०४५ एवम् २०७२ सालको नाकाबन्दी विरुद्धको आन्दोलन, नेपालमा राष्ट्रियता, जनतन्त्र, जनजीविकाका लागि चलेका हरेक आन्दोलनमा ऐक्यबद्धता, किसानमार्चमा सहभागिता, द्वन्द्वकालमा सरकारको दमन तथा माओवादीद्वारा जनतामाथि गरिएका ज्यादतीका विरुद्ध मानव अधिकारको रक्षाका लागि सचेतना आन्दोलन, सङ्घीयता विरुद्धको आन्दोलन, समयमै राजनैतिक गत्यावरोध हटाई संविधान जारी गर्न दबाब, २०६३ देखि नैै प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि आन्दोलन आदि कार्यमा मूल प्रवाहको भूमिका उल्लेखनीय रहेको छ ।
नेपाल र नेपालीको मुक्तिबिना हामी प्रवासी नेपालीका समस्याको समाधान सम्भव छैन । नेपालबाट रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यताका लागि नेपालमा विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्यसत्ता र उसको आर्थिक, सामाजिक र राजनैतिक कारण नै जिम्मेवार छ । नेपालमा आमूल परिवर्तनबिना नेपाली जनताको मुक्ति सम्भव छैन र हामी प्रवासी नेपालीको पनि । त्यसैले हामी प्रवासी नेपालीको दायित्व जनताको बलिदानीपूर्ण आन्दोलनको बलमा स्थापित गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियताको रक्षा र नेपाली जनताको मुक्तिका लागि सैद्धान्तिक एवम् साङ्गठनिक आधारलाई झन् मजबुत बनाउने कार्यलाई निरन्तरता दिँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय परम्परालाई अगाडि बढाऔँ ।”